नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। रसुवा जिल्लामा आएको बाढी, पहिरो , प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भइरहेको बेला पार्टीले सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई विपद् प्रभावित जनताको उद्धार, राहत र सेवामा जुट्न निर्देशन दिएको हो।
पार्टी अध्यक्ष कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा पछिल्लो समय आएको प्राकृतिक प्रकोप बाट ठूलो संख्यामा जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा आगामी दिनमा खाद्यान्न, लत्ताकपडा तथा औषधिको अभाव हुनसक्ने र उद्धार गरिएका व्यक्तिलाई घर फर्काउन समेत समस्या हुनसक्ने भएकोले पार्टीले विपत्तको समयमा आफ्ना सबै समिति र नेता कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएको छ।
साथै आम जनताबाट राहत संकलन गरी विभिन्न आधिकारिक संघसंस्था, निकाय तथा जनतासँग समन्वय गरेर प्रभावित नागरिकसम्म पुर्याउन पहल गर्न भनिएको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा रहेका विद्यार्थी, युवा, मजदुर, महिला लगायतका जनवर्गीय संगठनलाई पनि बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उपचार सहयोग तथा रक्तदान कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ।
पार्टीले राष्ट्रिय सम्मेलन स्थगित भए पनि नयाँ मिति तय गर्न केन्द्रीय समितिको बैठकबाट उपयुक्त समय निर्धारण गरिने जनाएको छ। प्रेस वक्तव्यमा सरकारले बाढीले बगाएर ल्याएका शव पहिचान हुन नसकेको भन्दै ‘माटोमुनि व्यवस्थापन’ गरेको विषयप्रति समेत ध्यानाकर्षण गराइएको छ।







प्रतिक्रिया दिनुहोस्