रसुवा बाढीबाट क्षतिग्रस्त बनेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धार तथा खोजी कार्य अझै चुनौतीपूर्ण बनेको छ।
बाढीले आयोजनास्थलमा थुपारेको लेदो, हिलो र दलदलका कारण उद्धार उपकरण लैजान तथा भग्नावशेष हटाउन समस्या भएको नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले आयोजनामा खोजी तथा उद्धारका लागि ९० जनाको टोली परिचालन गरिएको जानकारी दिए।
उनका अनुसार बाढीपछि आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको छ । तर, बाढीले बनाएको दलदलका कारण उद्धार टोलीलाई आयोजनास्थलमा पुग्न र आवश्यक उपकरण परिचालन गर्न कठिनाइ भइरहेको छ ।
‘हाम्रो फोकस अहिले त्रिशूली–३ बी आयोजनामा रहेको छ । यसको हामीले रेकी भदौ १० गते नै गरेका थियौँ । तर, त्यहाँको हिलोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ,’ सहायक रथी थापाले भने ।
हाल आयोजनास्थलमा एउटा सानो एस्काभेटर पुर्याइएको छ।
कतिपय ठाउँमा भने उद्धारकर्मीले साबेलको प्रयोग गरेरै हिलो र माटो हटाइरहेका छन् । आयोजनाको कार्यालयसमेत बाढीले पुरिएकाले त्यसको खोजीसमेत भइरहेको सेनाले जनाएको छ ।
सेनाका अनुसार आयोजनाको टनेलभित्र मानिस रहेको अहिलेसम्म देखिएको छैन । तर, आयोजना कार्यालय र साइड क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने भएकाले खोजी जारी राखिएको छ।
त्रिशूली–३ ‘ए’को सुरुङबाट त्रिशूली–३ ‘बी’को सुरुङतर्फ पुग्न सकिने देखिएपछि त्यही मार्ग हुँदै एस्काभेटर लैजाने प्रयास भइरहेको छ । सुरुङमार्फत उपकरण आयोजनास्थलसम्म पुर्याउन सकिए खोजी तथा उद्धार थप प्रभावकारी हुने सेनाको अपेक्षा छ ।
बाढीबाट आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै नजिकै रहेको सुकुम्बासी बस्तीमा समेत ठूलो क्षति पुगेको छ ।
१७८ जना अझै सम्पर्कविहीन
बाढी आएको १२ दिन बितिसक्दा पनि माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनासँग सम्बन्धित १७८ जना अझै सम्पर्कविहीन छन्।
आयोजना निर्माण गरिरहेको फेवा कन्स्ट्रक्सनका १३ जना भने सम्पर्कमा आएका छन् । सम्पर्कविहीन आफन्तको अवस्था सार्वजनिक गर्न र खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन माग गर्दै पीडित परिवारका सदस्यहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्