२०८३ भदौ २७ , शनिबार

अस्पतालको गेटमै बच्चा जन्माएकी बबितालाई सुनिताले लगाइदिईन् यसरी मल्हम



अस्पतालको प्रवेशद्वार नजिकै सडक पेटीमा बच्चा जन्माउन बाध्य भएकी सप्तरीकी बबिता पासवानलाई समाजसेवी सुनिता साह (क्रान्ति)ले राहत सामग्री प्रदान गरेकी छन्।

 

 

राष्ट्रिय समता पार्टी नेपालकी केन्द्रीय उपाध्यक्षसमेत रहेकी राजविराज–७ निवासी साहले  गजेन्द्रनारायण सिंह अस्पताल पुगेर राजविराज नगरपालिका–१४ की बबितालाई आमा र नवजात शिशुका लागि आवश्यक सामग्री हस्तान्तरण गरेकी हुन्।

 

 

विपन्न परिवारकी बबिता आर्थिक अभावका कारण अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन नसकेपछि रकमको जोहो गर्न बाहिर निस्किएकी थिइन्।

 

सोही क्रममा अस्पतालको प्रवेशद्वार नजिकै प्रसव पीडाले च्यापेपछि उनले सडक पेटीमै शिशुलाई जन्म दिएकी थिइन्। बबिताको पीडामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले साहले आमा र बच्चाका लागि लत्ताकपडा, झुल, सेनिटरी प्याड, साबुन, पाउडर, पौष्टिक आहारलगायतका सामग्री प्रदान गरेकी छन्। साथै, करिब एक महिनासम्म पुग्ने खाद्यान्नसमेत हस्तान्तरण गरिएको छ।

 

 

सहयोग हस्तान्तरण गर्दै साहले आर्थिक अभावका कारण कुनै पनि महिलाले सुरक्षित प्रसूति सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा राज्य र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताइन्।

प्रकाशित मिति : २०८३ भदौ २७ गते शनिबार