२०८२ चैत २८ , शनिबार

पूर्वसांसद छिरिङले लगाइन् शाहीलाई यस्तो आरोप



राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित सांसद ज्ञानबहादुर शाहीमाथि एकजना पूर्व सांसदले ‘अपारदर्शी’ को आरोप लगाएकी छन्। नेपाली कम्युनिष्ट पार्टीकी नेतृ छिरिङ ल्हामु लामाले शाहीको राजधानीमा जोडिएको स्थिर सम्पत्तिको स्रोत के हो ? भनेर सोधेकी हुन् ।

 

 

जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि शाहीले हिजो मतदातालाई धन्यवाद दिदै ‘अब भ्रष्टाचारीको पाता कस्ने’ अभिव्यक्ति दिएका थिए । सोही सन्दर्भ औँल्याउँदै लामाले सबैभन्दा पहिले शाहीलाई नै आफ्नो सम्पत्तिको स्रोत खुलाउन भनेकी हुन् । ‘एउटाले भ्रष्टाचारीहरुको पाता कसिन्छ छ रे, कति हाँस्नु है’, उनले भनेकी छन्, ‘यदि साँच्चै कस्ने हो भने पहिलो पाता आफ्नै कस्नुपर्यो ।’

 

 

लामाले साढे दुई वर्षको सांसदको तलबले उक्त सम्पति जोड्न असम्भव हुने दावी गरेकी छन् । ‘काठमाडौंमा जोडिएको त्यो विशाल जग्गा र सम्पत्तिको स्रोत के हो ? त्यो कहाँबाट आयो ?’ उनले सोधेकी छन्, ‘आउ, त्यहीँबाट भ्रष्टाचारको छानबिन सुरु गरौँ, तिमीले नगरे पनि, हामीले भने पक्कै पनि सुरु गर्नेछौँ, सांसदको अढाई वर्षको तलब भत्ताले यो सम्भव भएको हो त ?’

यसअघि शाहीले पनि लामालाई भ्रष्टचारीहरुको मतियार भन्दै कटाक्ष गरेका थिए । दुई जनाबीच पछिल्लो समय सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको देखिन्छ ।

छिरिङ यसअघि तत्कालिन माओवादी कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। यसपटकको चुनावमा शाहीले नेपाली कम्युनिष्ट पार्टीका नरेस भण्डारीलाई भारी मतले हराएका हुन् भने जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी उम्मेदवार विनिता कठायतले ५ सय मत पनि ल्याउन सकिनन्।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार