२०८३ वैशाख १ , मंगलबार

इलाम १ बाट कांग्रेसले नगेन्द्र बुढाथोकीसहित गर्‍यो प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस



नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि निर्वाचनका लागि प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिले प्रदेशसभा क्षेत्रीय सभापति निस्कल राई, क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकी, पूर्व राज्यमन्त्री समेत रहेका केशव थापा, संविधानसभा सदस्य समेत रहेका टीकाराम सुब्बा, जिल्ला सभापति डम्बरबहादुर खड्का, पूर्व राज्यमन्त्री समेत रहेका बेनुपराज प्रसाईं, भुपेन्द्र कट्टेल, महाधिवेशन प्रतिनिधि हरिप्रसाद लुइँटेल र भेषराज आचार्यलाई सिफारिस गरेको हो ।

युवा नेता निष्कल राई हाल प्रदेशसभा १ (ख)का को क्षेत्रीय सभापति हुन्। नेपाल विद्यार्थी संघमा लामो समयसम्म आबद्ध रहेका राई शंकरदेव क्याम्पसका पूर्व लेक्चरर पनि हुन् । अर्का युवा क्षेत्रीय प्रतिनिधि नगेन्द्र बुढाथोकी लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।

जिल्ला सभापति समेत रहेका डम्बरबहादुर खड्का प्रदेशसभामा एकपटक र इलाम क्षेत्र नम्बर २ बाट २०७९ को निर्वाचन र २०८१ को उपनिर्वाचनमा उम्मेदवार बनिसकेका छन् । तीनैपटक उनले पराजय भोगेका थिए । उक्त क्षेत्रबाट २०७९ मा सुवास नेम्बाङ र उनको निधन भएपछि भएको उपनिर्वाचनमा उनकै छोरा सुहाङ विजयी भएका थिए ।

भेषराज आचार्य पनि सोही क्षेत्रबाट २)७४ को प्रतिनिधिसभा चुनावमा सुवास नेम्बाङसँग पराजित भएका हुन् । पार्टीको १२औँ, १३औँ र १४औँ अधिवेशनमा जिल्ला सभापतिमा पनि उनी पराजित भएका थिए ।

पूर्व राज्यमन्त्री तथा पूर्व जिल्ला सभापति केशव थापा तत्कालीन इलाम क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा तथा संविधानसभामा जित हासिल गरेका व्यक्ति हुन् । पछिल्लो समय उनको राजनीतिक सक्रियता कम छ ।

२)५६ को आम निर्वाचनमा क्षेत्र नम्बर बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेका पूर्व राज्यमन्त्री बेनुपराज प्रसाई संविधानसभाको पहिलो निर्वाचनमा सोही क्षेत्रमा खनालसँग पराजित भएका थिए ।

टीकाराम सुब्बा समानुपातिकतर्फ पहिलो संविधानसभा सदस्य हुन् भने भुपेन्द्र कट्टेल सोही क्षेत्रबाट २०७४ को प्रतिनिधिसभा चुनावमा खनालसँग पराजित भएका थिए । पूर्व शिक्षक हरिप्रसाद लुइँटेल पार्टीको महाधिवेशन प्रतिनिधि हुन्। खड्का, थापा र आचार्यले क्षेत्र नम्बर २ बाट लड्दै आएको भएपनि यसपटक क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन्।

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार