२०८२ चैत २८ , शनिबार

के छ क्षितिज समर्पणको ‘तोरकीन’ उपन्यासमा?



पत्रकार तथा युवा लेखक क्षितिज समर्पणले ‘तोरकीन’ उपन्यास बजारमा ल्याएका छन्। माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ।

उपन्यासबारे लेखक समर्पण यसो भन्छन्,‘मैले रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा लेखेको हुँ । यस उपन्यासमार्फत् पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउने कोसिस गरेको छु।’
उपन्यासमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत् तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ।

स्थानीय ल्होवा भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु, लोप हुनु हो। सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको छ। महत्वकांक्षी किताबहरूको सूचीमा प्रकाशन गरिएको यस उपन्यासमार्फत् नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको प्रकाशक बुकहिलले जनाएको छ।

जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन्। क्षितिजको शव्दमा केहि गीतहरु पनि रेकर्ड भएका छन्। चर्चित गायिका शान्तिश्री परियारको आवाजमा रहेको टप्पा गीत केहि समय अघि मात्रै सार्वजनिक भएको छ। गायिका ईश्वरी बरालको आवाजमा रहेको हरेक रात सपनिमा गीतको शव्द पनि क्षितिजले रचना गरेका हुन्।

क्षितिज ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ २०७६ र २०७७ पुरस्कृत समेत भएका थिए। उनी दशौं राष्ट्रिय खेलगीतका रचनाकार समेत हुन्।३३६ पृष्ठको पुस्तकको बजार मूल्य ६६६ रूपैयाँ रहेको छ। एक दशकभन्दा बढी समयदेखि उनी पत्रकारिता क्षेत्रमा समेत सक्रिय छन्।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार