एमालेमा अध्यक्ष केपी ओलीपछि कसले नेतृत्व गर्ला भन्ने चासो र चिन्ता एमालेलाई मात्रै नभै अन्य दल र राजनीतिमा चासो राख्नेलाई थियो र छ पनि।
तर त्यसको जवाफ केपी ओलीले व्यवहारिक रुपमा नै दिइसकेका छन् एमाले पूर्व उपाध्यक्ष समेत रहेकि मुलुककी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा सक्रिय गराएर।
अहिले भन्दा अपत्यारिलो जस्तो लाग्न सक्ला तर केपी ओलीले आफ्नो विकल्पका रुपमा भण्डारीलाई उभ्याएका प्रसस्तै आधार र प्रमाण भेट्न सकिन्छ।
यदि बर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहेको भए विद्या भण्डारी फेरि राजनीतिमा सक्रिय हुन संभव नै थिएन र छैन पनि।
आफ्ना विरोधीलाई हदैसम्म पाखा लगाएर पार्टी र राजनीतिमा राज गर्दै आएका ओलीले आफ्नो पुरानो मित्रता र राजनीतिक सारथीको हैसियतमा विद्या भण्डारीलाई स्पेश दिएका हुन्। र ओलीको मौन समर्थनमा भण्डारी पूर्व राष्ट्रपतिको पदिय मर्यादा र गरिमा भूलेर एमालेमा सक्रिय भइन्।
हिजोका दिनमा माधव नेपाल झलनाथ खनाल एमाले नेतृत्वमा रहँदा पार्टीभित्र संस्थापन इतर गुट चलाएका ओली भण्डारीले मिलेर दुई दुई पटक संसद विघटनसमेत गरे।
पुरानो मित्रतालाई अझै लम्व्याउन भण्डारी र ओलीले दुस्मनी बढेको र आ–आफ्नो बाटो लागेको जस्तो नाटक मंचन गरिरहेका छन्। र एमाले नेता कार्यकर्ताले बुझेर पनि नबुझेजस्तै गरेर दर्शक बनिरहेका छन्।
केहि नेता कार्यकर्ता भ्रममा छन्। तर जे जे भएपनि विरोध गर्न सकिरहेका छैनन्। किनकि एमालेमा नेतृत्वको विरोध गर्न पाइदैन। केपी ओली जो कोहिलाई पार्टी नेतृत्व सुम्पन चाहदैनन्।
ईश्वर पोखरेल, शंकर पोखरेल, बिष्णु पौडेल लगायत शीर्ष नेतालाई ओलीले पार्टी हाक्न सक्ने हैसियत भएका नेतामा नै गन्दैनन्। उनका विरुद्धमा उभिदा वा अभिव्यक्ति दिँदा कि त डा भीम रावल जसरी पार्टीबाट नै निस्कासित हुनुपर्ने हुन्छ कि त डा विन्दा पाण्डे उषाकिरण तिम्सीनाहरु जसरी कारवाही भोग्नुपर्ने हुन्छ।
ओलीले विश्वास गर्ने एउटै पात्र भनेको विद्या भण्डारी हुन् जसलाई ओलीले दुई दुई पटक मुलुकको राष्ट्रपति हुने अवसर र माहोल खडा गरे भने अव पनि पार्टी नेतृत्व सुम्पिने तयारीमा छन्।
बाहिर विरोध गरे जस्तो गर्ने, सार्वजनिक कार्यक्रमहरुमा भण्डारीलाई अनेक तवरले कटाक्ष गर्ने तर भित्र भित्र माहोल मिलाएर ओलीकै सक्रियतामा भण्डारी राजनीतिमा सक्रिय भएकी हुन्।
यी सबै गतिविधि देख्दा पनि एमाले नेता कार्यकर्ताहरुले भने विरोध गर्न सकेका छैनन बरु नाटकमा विद्या र ओलीलाई साथ दिएर दोस्रो तेस्रो तहसम्मकै नेता कार्यकर्ता विभाजित भइदिएका छन्।
ओली र विद्याले यतिमात्रै चालवाजी गरेका छैनन्। एक अर्काको विरोध गरेझैँ गरेर विद्या भण्डारीलाई सर्वमान्य र सर्वस्वीकार्य नेता बनाउन लागी परेका छन्।
यतिसम्मकी नेकपा विभाजित भएपछि माओवादीबाट एमालेमा बसेका नेताहरुले समेत भण्डारीलाई समर्थन गर्ने माओलको निमार्ण हुँदैछ।
यसले गर्दा ओली र विद्या पक्षका नेता कार्यकर्ताहरु खुसि छन् भने एमालेमा नेतृत्व गर्ने पालो कुरेर बसेका शीर्ष नेताहरु ओलीसँग कसैगरी सकिदैन भनेर भित्रिभित्रै चिढिएका छन्। भण्डारी सक्रिय राजनीतिमा आउन नहुने मत एमालेभित्र नभएको होइन।
पार्टीका कतिपय प्रभावशाली नेताहरुले भण्डारीलाई पार्टीमा प्रवेश गर्ने वैधानिक बाटो नै बन्द गर्ने प्रयास पनि गरेका थिए। तर त्यो सफल भएन राष्ट्रपति भैसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन हुने वा नहुने भन्ने नैतिक प्रश्नलाई भत्काएर भण्डारीले पार्टी सदस्यता नविकरण गरेको र अव पार्टी मार्फत नै सक्रियता जनाउने घोषणा गरेपछि एमाले अध्यक्ष केपी ओलीबाट किनार पारिएका हरु राहत मानेका छन्। पार्टी भण्डारीको नेतृत्वमा एकढिक्का हुने आसमा ओली पनि मख्ख छन्।
कुनै समय एउटै समूह बनाएर राजनीति गरेकी भण्डारी ओलीको नजिकको पात्र भएपनि हालका लागि पार्टी हाक्ने नेता ओली नै भएको नेताहरु दावी गर्छन्। पार्टी नेतृत्वमा आएपछि ओलीले विरोधीलाई पाखा लगाउँदै लगेका छन्। ओली इतर समूहलाई पार्टीमा टिक्नै नसक्ने अवस्था बनेको छ।
नेतृत्वमाथि असन्तुष्टि र गुनासा भएपनि प्रश्न उठाउन नसक्ने नेता कार्यकर्ता अब नयाँ धार अर्थात विद्या धार समाउन खोजेका छन्। तर विद्या र ओली धार एकै हो वा फरक हो पार्टी पंक्तिले भेउ पाउन समय लाग्नेछ। नेकपा फुटपछि एमालेमै रहने निर्णय गरेका पूर्व माओवादी नेताहरुसमेत आस जगाएको पार्टी पंक्तिमा चर्चा हुन थालेको छ।
ओलीले आफ्नो सक्रियता रहेसम्म भण्डारी नेतृत्वमा आउन सहज नहुनेजस्तो देखाउन खोजेका छन्। त्यहि प्रकारको हल्ला वा अफवाह फैलाउन लगाएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको साथ अव भण्डारीलाई हुने प्रष्ट देखिन्छ। गत शनिबार मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पोखरेलले पनि त्यसैलाई पुष्टि गर्ने गरी तर्क राखेका थिए।
पोखरेल ओली दुरी छ तर पोखरेल र भण्डारी एक हुँदा फाइदा ओली लाई नै हुनेछ। महासचिव शंकर पोखरेल लगायतलाई भने भण्डारी आगामी यात्रामा तगारो बन्न सक्नेछिन्। तर त्यसलाई ओलीले सम्हाल्नेमा भण्डारी आश्वास्त छिन्।
मदन भण्डारी फाउन्डेसनमार्फत गुट विस्तारदेखि संसद् विघटनसम्म एक–अर्कालाई निशर्त साथ दिएका ओली र भण्डारी पछिल्ला महिनाहरुमा आ– आफ्नै बाटो लागेका छन्। बास्तवतमै आ– आफ्नो बाटो लागेका हुन् वा ओली र भण्डारी आ–आफ्नो बाटो लागे जस्तो देखिएका हुन्? यो गम्भीर प्रश्न हो।
भण्डारी एमालेको सातौं महाधिवेशनसम्म पार्टी केन्द्रीय सदस्य मात्रै थिइन्। एमालेको पार्टी राजनीतिभन्दा पनि गुटको राजनीतिमा उनको महत्व धेरै थियो, जुन भण्डारी आफै र नेता केपी शर्मा ओली मिलेर सञ्चालन गरिरहेका थिए। उनीहरूको आवरणमा भने मदन भण्डारी फाउन्डसेन थियो।
२०५० साल जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमालेले उनीहरूको स्मरणमा मदन–आश्रित फाउन्डेसन खोलेको थियो।
तर, पार्टी राजनीतिभन्दा पर पनि राजनीति गर्नै चाहेर हुनसक्छ २०५६ सालमा मदन भण्डारी फाउन्डेसन खोलेर भण्डारी र ओलीले राजनीतिक गतिविधि गर्न थाले।
पार्टीभित्रै अर्को पार्टी सञ्चालन भएको थाहा पाउँदापाउँदै पनि एमालेको संस्थापन पंक्ति त्यसबेला चुपचापजस्तै थियो, किनभने मदन भण्डारीका नाममा खोलिएका संस्थाहरूमाथि प्रश्न गर्नु नेतृत्व स्वयं प्रश्नको कठघरामा उभिनु थियो। त्यतिवेला ओली र भण्डारी एक ठाउँमा उभिदा एमाले चुपचाप थियो भने अहिले तिनै ओली र भण्डारी दुई ध्रुवमा उभिदा एमाले चुपचाप छ। ओली र भण्डारीका गतिविधि देखेर पनि एमाले नेताहरुले नदेखेझै गरेका छन्।
यतिसम्म कि भण्डारीले एमालेको नेतृत्व गर्छु भनेर खुलेआम भन्दा समेत एमाले नेताहरुले हामीले त त्यस्तो सुनेका छैनौँ भन्न भ्याउँछन् उनिहरुले साच्चिकै सुनेका छैनन वा नेतृत्वले नसुन्नु भनेको छ? यसको जवाफ एमाले नेताहरुले मुखले दिन सक्दैनन्। यतिसम्म कि ओली नेतृत्व सरकारका मन्त्री समेत रहेका एमालेका एक शीर्ष तहका पदाधिकारीले केहि दिन अघि एक सार्वजनिक कार्यक्रममा नै विद्या भण्डारी एमालेमा सक्रिय हुन खोज्ने खालको कुनै गतिविधि आफूले नदेखेको हास्यास्पद अभिव्यक्ति दिएका थिए।
विद्या भण्डारी राजनीतिमा फेरि सक्रिय हुन थालेको गतिविधी ति एमाले शीर्ष नेताले आफै देखेनन् वा ओलीले नेदेख्न भने कि विद्याले? भण्डारी राजनीतिमा आउन ठिक्क पर्दै गर्दा ओलीले एमालेमा तेस्रो कार्यकालका लागि पनि अध्यक्ष ताक्नु ओली भण्डारीको सल्लाहमै रणनीति बनाएको हुन सक्ने अड्कलवाजी भएका छन्। एमालेको नवौं महाधिवेशन २०७१ असारमा काठमाडौंमा भयो । उक्त महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित र्गयो।
त्यसअघि नै संसदीय दलको निर्वाचनमा झलनाथ खनाललाई पराजित गरेर ओली पार्टी राजनीतिको मूलधारमा जबरजस्त उदाइसकेका थिए।
त्यसमा विद्या भण्डारीको साथ छुट्ने कुरै भएन।
एमालेको नवौं महाधिवेशनमा ओली अध्यक्ष हुँदा भण्डारी उपाध्यक्ष भइन्। एमालेमा नयाँ शक्तिको उदय भयो
१५ वर्षदेखि माधवकुमार नेपाल र ५ वर्ष झलनाथ खनालको वरिपरि रहेर राजनीति गरेकाहरू छेउ लागे । कतिपय गुट परिवर्तन गरेरै ओलीको कित्तामा पुगे ।
एमालेका सदाबहार प्रतिपक्षीजस्तै रहेका ओली र भण्डारी पार्टी राजनीतिको सत्तातिर मोडिएपछि एमालेमा प्रश्नहरू बर्जित हुन थालेका हुन्।
नवौं महाधिवेशनको पूरै कार्यकाल ओली र भण्डारीले एमालेमा सहयात्रा गर्न पाएनन्।
भण्डारी कात्तिक २्०७२ मा राष्ट्रपति निर्वाचित भइन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्ताव र पहलमा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
भण्डारीको पहिलो कार्यकाल त्यति विवादित भएन । दोस्रो कार्यकालमा भने ओली र भण्डारीको गठजोडले देशको संविधानमाथि नै प्रहार र्गयो । खासमा भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन चाहन्नथिन् । उनले आफूलाई पार्टीमै सक्रिय राजनीति गर्न मन लागेको कुरा एमाले अध्यक्ष ओलीलाई भनेकी पनि थिइन्।
त्यसबेला एमालेको बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र झलनाथ खनालले राष्ट्रपति बन्ने इच्छा खुलेरै प्रकट गरेका थिए । तर ओलीकै इच्छामा विद्या भण्डारी दोस्रोपटक राष्ट्रपति भइन् । ओलीले दुई–दुई पटक संसद् विघटन गर्दा भण्डारीले प्रश्न र प्रतिवाद नगरीकनै सदर गरिदिइन् ।
यसबेला उनले राष्ट्रपतिको भूमिकामा आफूले गर्नुपर्ने दायित्वभन्दा धेरै मित्रताका हिसाबले ओलीको कदमलाई सदर गरिदिइन् भनेर आलोचना भयो। २०७९ फागुन २८ मा राष्ट्रपतिका रूपमा कार्यकाल सकिएपछि भण्डारी आफ्नै निजी निवास बुढानीलकण्ठ सरिन्।
सक्रिय राजनीतिमा फर्किने भण्डारीको अपेक्षा त्यसैबेला पनि प्रकट भएको थियो।
भण्डारीले पूर्वपदाधिकारीको हैसियतमा सरकारले दिने कुनै पनि सुविधा नलिने घोषणा गर्नु नै पार्टी राजनीतिमा पुनरागमन हुनसक्छ भन्ने संकेत थियो। राष्ट्रपतिको भूमिकाबाट निस्किएको करिब एक वर्षपछि भण्डारी सार्वजनिक राजनीतिक कामहरूमा सक्रिय हुन थालेकी हुन्।








प्रतिक्रिया दिनुहोस्