कांग्रेसमा आफूलाई शेरबहादुर देउवानिकट भनेर दाबी गर्दै आएका कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा कारबाहीमा पर्ने भएका छन्। पार्टी सभापति गगन थापा भएपछि तीर्थ थापा निगरानीमा परेका छन्।
सांस्कृतिक संघमा झण्डै २० बर्षदेखि रहेका थापा हिजोका दिनमा देउवाको निकटको पात्र भएको आडमा विभिन्न अनैतिक कृयाकलापमा संलग्न थिए। प्रमाणसहित पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा उजुरी पर्दासमेत उनिमाथि कारवाही हुन सकेको थिएन।
तर अब भने परिस्थिती फेरिएको छ।
गगन थापा सभापति भएसँगै पार्टी भित्र गलत काम गर्ने जो कोहि कारवाहीको दायरामा ल्याउने तयारी भएको बुझिएको छ। अहिले उजुरी अध्ययनको काम भइरहेको छ। सांस्कृतिक क्षेत्रमा भन्दा पनि गुण्डागर्दी शैलीका कृयाकलापमा थापाको संलग्नता ज्यादा रहँदै आएको छ।
सांस्कृतिक संघमा धेरैले नरुचाउने भएपनि ठगी खाने भाँडो बनाउनकै लागि संघलाई बर्षौँदेखि थापाले कव्जामा राख्दै आएका छन्।
संघभित्र थापाको नाम समेत लिन नरुचाउनेहरु धेरै छन् भने थापाकै कारण लोकतन्त्र र प्रजातन्त्रमा आस्था राख्ने उत्कृष्ठ कर्यौँ सर्जक तथा कलाकारहरु सांस्कृतिक संघमा अटाउन सकेका छैनन्। उनी आफ्नो सानो टीम लिएर ठगीधन्दामा लाग्ने गरेको लिखित तथा मौखिक उजुरीहरु पार्टीमा धेरै पुगेका छन्। थापाको सांस्कृतिक क्षेत्रमा भन्दा पनि गुण्डागर्दीलाई संरक्षण गर्न धेरै योगदान रहेको कांग्रेस बृत्तमै चर्चा हुने गरेको छ।
पार्टी बदलिइसकेकोले अब भ्रातृ र सुभेच्छुक संस्थाहरु पनि बदल्ने तयारी भएको गगन थापा निकट नेता बताउँछन्।
गुण्डागर्दी र चाकडीकै भरमा थापा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका थिए तर उनको पार्टीमा धेरै विरोध भएपछि उनको नाम फिर्ता भयो। थापाले सांस्कृतिक संघको जिम्मेवारी हस्तान्तरण गर्छु भनेर अफवाह फैलाएर संघलाई सँधै आफैँ हडपेर बस्ने गरेका छन्। थापाले संघका महामन्त्री गणेश सुवेदीलाई नेतृत्व सुम्पिन खोजेको भनेर आफैले चर्चा गर्न लगाएका छन् तर उनको भित्रि मनासय भने सांस्कृतिक संघ नछाड्ने छ।
गणेश सुवेदीसँगको टेलिफोन संवादमा तपाईं अब साँस्कृतिक संघको अध्यक्ष बन्ने भएकाले आर्थिक सहयोग जुटाउन थाल्नुस् भनेर भनेको झण्डै ३ बर्ष पुग्न लाग्यो यद्यपी संघको नेतृत्व थापाले नै गरिरहेका छन्। आजका समाचार डट कमलाई प्राप्त टेलिफोन संवाद रेकर्डको अडियोमा थापाले दम्भका साथ भनेका छन् ‘म जसलाई चाहन्छु, त्यसलाई सांस्कृतिक संघको अध्यक्ष बनाउँछु, मैले आज फोनमा वचन दिएँ तपाईलाई, मलाई बहुत समस्या हुन्छ म अब धान्न सक्दिनँ। धरै वर्ष गरिसकेँ, बेइज्जत हुन्छ, मेरो इज्जतको लागि पनि तपाईंले तयारी गर्नुस, यो तपाईं र मेरो मात्रै सेपरेट कुरा हो म भोलि भन्दै हिँडौला, अबको सभापति जोगिन्दर हो भनौँला, राजेन्द्र हो भनौँला, फलानो हो भनौँला तर तपाईंलाई अध्यक्ष बनाउने मेरो अन्तिम निर्णय हो।’
सुवेदीलाई संघको अध्यक्ष बनाउन तत्कालिन पार्टी सभापति देउवा र पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरुलाई मनाउने जिम्मा आफ्नो भएको भन्दै थापाले सुवेदीलाई मनग्य आर्थिक स्रोत जुटाउन दबाब दिँदै आएका साँस्कृतिक संघकै एक पदाधीकारीले खुलासा गरेका छन्। संघका संस्थापक सभापति थापा संघभित्र यस अर्थमा पनि विवादित छवि भएका पात्र हुन्।
उनीमाथि एक लोकदोहोरी गायिकालाई दुव्र्यवहार गरेको आरोप लागेको छ। यस्तै पछिल्लो सांस्कृतिक संघकै एक पदाधिकारी विवाहित महिलासँग उनको अनैतिक सम्बन्ध बाहिरीएको छ। यसलाइ पार्टीले गम्भीर रुपमा लिएको जनाएको छ। यस्तै थापाले लमजुङमा पनि एक महिलालाई दुव्र्यवहार गरेको उजुरी पार्टीमा छ। पार्टीको नाममा विभिन्न व्यक्ति तथा संस्थालाई धम्क्याएर पैसा उठाएको तथा धेरै महिलाहरुलाई दुव्यवहार गरेको पार्टीमा उजुरी परेकाले उनलाई कारवाही गर्ने तयारी भएको कांग्रेसले जनाएको छ।
उनले सांस्कृतिक संघका नक्कली कार्ड बनाएर पनि पैसा उठाउँदै आएका छन्। यो उनको अर्को डरलाग्दो ठगीधन्दाको प्रमाणसहितको उजुरी पनि पार्टीमा पुगेको छ। आजका समाचारको टीमले पनि थापाले बनाइदिएका केहि नक्कली कार्डहरु प्राप्त गरेको छ। यसबारे पार्टी कार्यलयमा बुझ्दा अध्ययन भइरहेको जवाफ पार्टी कार्यलयले दिएको छ।
थापाले काठमाडौँका अधिकाशं गीत रेकर्डिङ स्टुडियोमा बर्षौदेखि लाखौँ रुपैया तिर्न बाँकी रहेको पनि बुझिएको छ। पार्टीका गीत,चुनावी गीत र आफ्ना व्यक्तिगत प्रयोजनको स्टुडियो प्रयोग गरेको पैसा नतिरेको उजुरी पनि पार्टीमा छ। थापा र थापाजस्तै पार्टीमा गलत काम गर्नेबारे आन्तरिक अध्ययन भइरहेको र आबश्यक कारवाहीमा जाने कांग्रेसले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्