सामाजिक-पारिवारिक सिरीयल ‘चुल्हो–चौको’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा चुनावको दिन मेगा एपिसोड प्रसारण गर्ने तयारी गरेको छ।
‘चुल्हो–चौको’ प्रत्यक विहिबार साँझ इन्टर मिडियाको युटुव च्यानलमार्फत प्रसारण हुँदै आएको छ। आगामी फागुन २१ गते बिहिबार दर्शक,स्रोताको ध्यान चुनावमा हुने भएकाले पुरा एपिसोड प्रसारण गर्न नसकिएको निर्माण पक्षले जनाएको छ।
मुलुक चुनावमय भएको कारण यो एपिसोड प्रसारण गर्न नसकेकोप्रति निर्माण टिमले माफी माग्दै त्यसपछि भने नियमित रुपमा पुरा एपिसोड प्रसारण गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस दिन बेलुका साढे ५ बजे अफिसियल भिडियो सार्वजनिक गर्ने तयारी छ। चुनावको दिन पुरा एपिसोड प्रसारण गर्न मिल्ने अवस्था नरहेको भन्दै हालसम्म प्रसारण भएको ‘चुल्हो–चौको’ को भाग १ गते ५ सम्मका महत्वपूर्ण दृष्यहरु प्रसारण गर्न लागिएको जनाइएको छ।
इन्टर मिडिया र सुरसिनेमाको संयुक्त प्रस्तुतिमा निर्माण भएको सामाजिक–पारिवारिक सिरियल ‘चुल्हो–चौको’ औपचारिक रूपमा प्रसारण हुँदै आएको छ।
नेपाली समाजको यथार्थ जीवनलाई केन्द्रमा राखेर तयार पारिएको यस सिरियलले घरभित्रका संघर्ष, पारिवारिक सम्बन्धका उतार–चढाव, सामाजिक मूल्य र संस्कारलाई कथावस्तु बनाएको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार पछिल्लो समय कमजोर बन्दै गएका पारिवारिक सम्बन्ध, समाजभित्र लुकेका पीडा तथा नबोलेका आवाजलाई पर्दामा उतार्नु सिरियलको मुख्य उद्देश्य हो। साथै, नयाँ पुस्तालाई संस्कृति, जिम्मेवारी र मानवीय मूल्यप्रति सचेत गराउने प्रयास यसमा गरिएको छ।
सिरियलको कथा तथा निर्देशन सुदर्शन चापागाईँले गरेका छन्। कथालेखनमा प्रयास बोहोरा, दिनेश शर्मा र कञ्चन परियार संलग्न छन्। गीत–संगीततर्फ शब्द र स्वर सुदर्शन चापागाईं र प्रदीप ढकालको रहेको छ भने संगीत प्रदीप ढकालकै रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विशम आचार्यले गरेका हुन्।

सिरियलमा सुदर्शन चापागाईं, दिनेश शर्मा, कञ्चन परियार, अर्जुन रुचाल,विवेक तामङ, गणेश सापकोटा, रोशन बीके, रिद्धिमा परियार, रुना विश्वकर्मा, कीर्ति बुढाथोकी, सलिना श्रेष्ठ, राम खत्री, तारा पुन घर्ती, सौभाग्य घर्ती र पुनम पुनलगायत कलाकारको अभिनय देख्न सकिनेछ।

निर्माण पक्षले ‘चुल्हो–चौको’ केवल मनोरञ्जनका लागि मात्र नभई समाजलाई ऐनाजस्तै देखाउँदै सकारात्मक सन्देश दिन सक्ने सिरियल हुने विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया दिनुहोस्