२०८२ चैत २८ , शनिबार

संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु ,यस्तो छ कार्यसूची



मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएअनुसार संघीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदै छ। नयाँ निर्वाचनपछिको यो पहिलो बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

 

 

संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार, बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्। त्यसैगरी, राष्ट्रपति कार्यालयबाटै प्राप्त प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पनि सदनलाई जानकारी गराइनेछ।

यस पटकको पहिलो बैठकमै तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। जसमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ रहेका छन्। अध्यादेश प्रस्तुतीकरणपछि संसद्मा रहेका विभिन्न दलका प्रतिनिधिहरूले दलीय आधारमा आफ्नो मन्तव्य राख्नेछन्।

अधिवेशनको पहिलो दिनको बैठकमा सदनको आगामी नेतृत्वका लागि सभामुख पदको निर्वाचन गर्ने मिति समेत तोकिने सम्भावित कार्यसूचीमा उल्लेख छ। यससँगै नयाँ संसद्को औपचारिक संसदीय प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।

 

 

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार