भारतका विदेशसचिव विक्रम मिस्री बुधवार र बिहीवार काठमाण्डूमा उच्चस्तरीय भेटघाटमा व्यस्त हुने अधिकारीहरूले जनाएका छन्। गत वर्ष नेपालमा भएको आमनिर्वाचनपछि छिमेकी भारतबाट नेपाल भ्रमण गर्ने उनी सबैभन्दा उच्च अधिकारी हुन्।
नेपालको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निम्तोमा भारतीय समकक्षी मिस्रीको नेपाल भ्रमण हुन लागेको हो। “परराष्ट्रसचिवसँग विदेशसचिवको बुधवार दिउँसो द्विपक्षीय भेटघाट र छलफल हुन्छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “भ्रमणका क्रममा उच्चस्तरीय अन्य भेटघाटहरू गरेर बिहीवार स्वदेश फर्किने कार्यक्रम छ।”
भारतीय विदेश मन्त्रालयले पनि आफ्ना विदेश सचिवले नेपालका अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेट गर्ने जनाएको छ। उसका अनुसार मिस्रीले “आपसी हितका द्विपक्षीय, क्षेत्रीय तथा विश्व मामिलामा छलफल गर्ने छन्।” दुवै पक्षले मिस्रीले नेपालमा भेटघाट गर्ने अन्य उच्च अधिकारीहरूबारे औपचारिक रूपमा खुलाएका छैनन्।
अधिकारीहरूले त्यसबारे केही खुलाएका छैनन्। केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नदिएपछि निर्धारण भइसकेको भ्रमण पनि मिस्रीले स्थगित गरेको खबरहरू सार्वजनिक भएका थिए। त्यस सन्दर्भमा अहिलेको भ्रमणलाई महत्त्वका साथ हेरेको पाइन्छ।
विदेशसचिव मिस्रीले सम्भवत: बुधवार नै प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गर्ने एक अधिकारीले जानकारी दिएका छन्। भ्रमणका क्रममा उनले गर्ने भेटघाटको पूर्ण तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
तर उनले अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र पूर्वाधारविकासमन्त्रीलगायतका अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ। त्यस्तै सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट हुने छ। प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिरको पहिलो हप्ता हुने अहिलेसम्मको तयारी रहेको बताइन्छ।
उक्त मितिबारे पनि नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले केही खुलाएका छैनन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले कार्तिक ११ गते आयोजित नियमित पत्रकार भेटघाटमा नेपालका प्रधानमन्त्रीलाई “भ्रमणको निमन्त्रणा गरिसकेको र यस विषयमा दुवै पक्षको आपसी अनुकूलताका आधारमा कूटनीतिक माध्यमबाट निर्णय लिइने” बताएका थिए।
“सम्माननीयज्यूको भ्रमण दुवै पक्षलाई उपयुक्त र अनुकूल समयमा हुने छ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले भने, “त्यसै सिलसिलामा परराष्ट्र मन्त्रालयबाट तयारी भइरहेको र मितिलगायतका विवरण उपयुक्त समयमा सार्वजनिक गरिने छ।”
तर जानकारहरूका अनुसार मिस्रीको यो भ्रमणको मुख्य ध्येय नै प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण सुनिश्चित गर्दै त्यसको चाँजो मिलाउनु हो।
“भ्रमणका केही मुद्दाबारे पनि कुरा होलान्,” ती अधिकारीले भने, “अहिलेसम्म मङ्सिर ७ गते भ्रमण हुने तयारी छ तर ६ गते पनि हुन सक्छ, सम्भवतः भ्रमणका क्रममा गरिने सम्झौतालगायतका विषयमा मोटो रूपमा सहमतिपछि मितिबारे अन्तिम टुङ्गो लाग्ला।”
मिस्रीको नेपाल भ्रमणको अघिल्लो दिन नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मङ्गलवार काठमाण्डू पुगेका छन्। भारतका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस भई संसदीय समितिबाट अनुमोदित भएका निश्चलनाथ पाण्डे दिल्लीको एग्रिमोको पर्खाइमा रहेको बताइएको छ। एक अधिकारीका अनुसार पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै दिल्लीमा जिम्मेवारी सम्हाल्ने ठानिएको छ।
स्रोत-बीबीसी









प्रतिक्रिया दिनुहोस्