२०८२ चैत २८ , शनिबार

गर्भनर नियुक्तिपछि अव सेलाउला सत्ता ढल्ने चर्चा?



काठमाडौँ-लामो रस्साकस्सीपछि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।

चैत  २२ गतेबाट रिक्त गभर्नर पदपूर्ति गर्न सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबिच यसबिचमा ठुलै रस्साकस्सी चल्यो । त्यसको ‘साइड इफेक्ट’का रूपमा सरकार र गठबन्धन नै भत्कनेसम्मको चर्चा पनि यसबिचमा चुलियो ।

पछिल्लो पटक जेठ ५ गते सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हुने भनिएको भेटवार्ता अचानक स्थगित भएपछि त झनै सरकार र गठबन्धन भत्किने चर्चाले व्यापकता पाएको थियो।

यही चर्चाका बिच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा करिब एक घण्टा छलफल भएपछि तत्काल मन्त्रिपरिषद् बैठक बसेर गभर्नर नियुक्त गर्ने सहमति जुटेको हो ।

ओली र देउवाको गोप्य भेटलगत्तै दुवै नेताले आ–आफ्ना विश्वासपात्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई बालुवाटारमा बोलाएका थिए ।

पौडेल र लेखकले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे बाहिर भइरहेका चर्चा र त्यसको नकारात्मक प्रभावबारे दुवै शीर्ष नेतालाई ब्रिफिङ गर्दै विषयलाई धेरै लम्ब्याउन नहुने सुझाव दिएसँगै गभर्नर नियुक्तिको विषय टुङ्गिएको स्रोत बताउँछ ।

खासमा गभर्नर कांग्रेसको भागमा परे पनि उसले सिफारिस गरेका पात्रप्रति प्रधानमन्त्री ओली सकारात्मक नभएको र नियुक्तिमा ढिलाइ गरेको कांग्रेसवृत्तको बुझाइ थियो । पौडेलविरुद्ध सर्वोच्चमा निवेदनसमेत पुगेको भन्दै ओलीले पौडेलको विकल्प खोज्न भनेपछि कांग्रेस नेताहरू ओलीसँग थप चिढिन पुगेका थिए।

यद्यपि कांग्रेस पौडेलको विकल्प खोज्न तयार नभएपछि ओली अन्ततः उनैलाई गभर्नर बनाउन तयार भएको बुझिएको छ ।

गभर्नर नियुक्तिबारे बाहिर चर्चा र हल्ला भएजस्तो दुई दलमा कुनै विवाद नभएको कांग्रेस–एमालेका केही नेताको दाबी छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का गभर्नरको विषयलाई लिएर अनावश्यक चर्चा गरिएको बताउँछन् । ‘गभर्नर नियुक्तिमा भएको ढिलाइसँग जोडेर गठबन्धन र सरकारप्रति सार्वजनिक भएका धारणाहरूमा सत्यता छैन’, खड्काले रातोपाटीसँग भने, ‘सोमबार प्रधानमन्त्रीको स्वास्थ्यले गर्दा मन्त्रिपरिषद् र सभापतिजीसँग भेट हुन नसकेको हो ।’ त्यसैलाई आधार बनाएर विभिन्न कोणबाट हल्ला फैलाइएको तर मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि त्यस्ता हल्लाका बजार आफैँ सेलाएको उनले बताए।

प्रकाशित मिति : २०८२ जेठ ६ गते मंगलबार