सङ्घीय संसद् सचिवालयले नयाँ निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण १२ गते गर्ने तयारी अगाडि बढाएको छ।
संसद् सचिवालयका महासचिवले राष्ट्रिय मान्यताप्राप्त दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा शपथ ग्रहण र संसदीय दलका कार्यालय व्यवस्थापनबारे चर्चा गरिएको हो।
छलफलमा मुख्यतया शपथ ग्रहणको मिति र दलका कार्यालयहरूको व्यवस्थापनमा केन्द्रित रहेर कुराकानी भएको सहभागी सांसदहरूले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले १२ गते शपथ लिने तयारी भएको जानकारी दिए। उनले आफूहरू प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारे। बैठकमा सांसदहरूको डकुमेन्टेसन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको जानकारी दिए।
शाहीले भने, ‘१२ गते शपथको तयारी छ, बाँकी सरकारले के गर्छ हेरौँ। हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं। बैठकमा सांसदहरूको डकुमेन्टेशन, फोटो, फारम भर्ने र नयाँ भवनको व्यवस्थापनका विषयमा छलफल भएको छ।’
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले १२ गते सांसदहरूको शपथ गर्ने गरी तयारी अघि बढाइएको बताए। निर्वाचन आयोगले सूची पठाइसकेपछि र राष्ट्रपति कार्यालयबाट समय सुनिश्चित भएपछि समय टुंगो लाग्ने उनको भनाइ छ।








प्रतिक्रिया दिनुहोस्