२०८२ चैत २८ , शनिबार

को हुन् स्वणलक्ष्मी सहकारीमा मुद्दा दर्ता नहुने पाँच जना?



काठमाडौँ-कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मंगलबार पूरक अभियोजनमार्फत अर्को मुद्दा दायर भएको छ।

नेपाली कांग्रेसकी समानुपातिकतर्फकी सांसद माया राईसहितका व्यक्तिविरुद्ध पूरक अभियोजनमार्फत काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो।

यस सहकारीका २० जना बचतकर्ताले राईसहितका व्यक्तिविरुद्ध पूरक जाहेरी दिएका थिए।
२० बचतकर्ताको ३७ लाख ३५ हजार ८४३ रुपैयाँ हिनामिना भएको पाइएको छ । सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ।

तर पूरक अभियोजनमा मुद्दा दायर हुँदा पनि पाँच जना व्यक्तिविरुद्ध भने अझै मुद्दा दायर हुन सकेको छैन।

मुद्दा दायर नहुनेहरूमा यामकुमार नाल्चो सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे, मीरा बम्जन र प्रचण्डमान प्रधान छन्।

अदालतमा दायर भएको अभियोजन पत्रमा भने उनीहरूको हकमा यकिन वतन खुल्न नसकेको बताइएको छ।

‘उनीहरूको हकमा यकिन वतन खुल्न नआएको हुँदा खुली आएका बखत र प्रस्तुत वारदातमा अन्य कोही कसैको संलग्नता खुली आएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम गरिने व्यहोरा अनुरोध छ’अभियोगपत्रमा भनिएको छ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो।

त्यतिबेला भने सांसद राईसहितका व्यक्तिलाई उन्मुक्ति दिइएको थियो। पहिलो पटक मुद्दा दर्ता हुँदा पनि यामकुमार नाल्चो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे र मीरा बम्जन उन्मुक्ति पाएका थिए।

दोस्रो पटक मुद्दा दर्ता हुँदा उनीहरू चार जनासँगै अर्का व्यक्ति प्रचण्डमान प्रधानले पनि उन्मुक्ति पाएका छन्।

सहकारी ठगी प्रकरणमा उनीहरूको संलग्नता खुले पनि उनीहरूको बारेमा पूरा ठेगाना, वतन र तीनपुस्ते नखुलेको भन्दै पूरक अभियोजन दर्ता हुँदा पनि उनीहरू प्रतिवादी बन्न सकेका छैनन्।

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार