२०८३ वैशाख ३ , बिहीबार

के हो टुँडिखेलमा विदेशी सेनाको उपस्थितिको भित्री पाटो ?



‘हाम्रा धेरै मित्रराष्ट्रहरू छन्। कुनै एउटा मात्र मित्रराष्ट्रको सेना किन ल्याइयो? सार्वभौम राष्ट्रमा विदेशी सैन्य गतिविधि किन? हाम्रा गौरवपूर्ण सांस्कृतिक महत्त्व झल्कने चाडपर्वहरू छन्। हाम्रा भाषा, बाजागाजा, नृत्य र रीतिरिवाजमाथि नराम्ररी हमला भएको छ।’

तीन पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार झापाको दमकस्थित आफ्नै निवासमा अमेरिकी सेना नेपाल आएको बारे आफ्नो धारणा राखे।

आइतबार मात्रै २६३औँ नेपाली सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी सेनाले सैनिक मञ्च टुँडिखेलमा ब्यान्ड प्रस्तुति दिएको थियो। यही विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै भोलिपल्ट (आज) ओलीले आफ्नो धारणा राखेका हुन्।

ओलीकै शैलीमा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले आइतबार नै विज्ञप्ति निकालेर राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर खेलबाड भएको आरोप लगाए। ‘नेपाली जनताको जानकारी र सहमतिबिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर खेलबाड हो,’ विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ओली र विप्लव मात्रै नभएर यो विषयमा सामाजिक सञ्जालमा पनि टीकाटिप्पणीहरू भइरहेका छन्। कतिपयले यसलाई अस्वाभाविक रूपमा समेत लिएका छन्। अमेरिकी सेना मात्रै होइन, अन्य देशका सेनाको आवागमन, नेपाली सेनाको विदेश भ्रमण, सैनिक अभ्यास लगायतका विषयहरूमा केन्द्रित रहेर हामीले जानकारी दिने प्रयास गरेका छौँ।

आइतबार नै सैनिक मुख्यालय जङ्गी अड्डाले निकालेको विज्ञप्तिमा अमेरिकी सेना मात्रै नभएर अरू दुई देशका सेनाले पनि ब्यान्ड प्रस्तुति दिएका थिए। सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीबाट साङ्गीतिक प्रस्तुति गरिएको थियो।’

जङ्गी अड्डाले अमेरिकाका साथै बेलायत र भारतका सैनिक ब्यान्डले प्रस्तुति गरेको बताए पनि भारत र बेलायती सैनिकबारे भने कुनै टीकाटिप्पणी भएको देखिँदैन। अमेरिकी सेनाको विषयलाई मात्रै लिएर टीकाटिप्पणी गरिएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले यो अभ्यास नियमित र पारस्परिक सम्बन्ध बुझाउने अर्थमा मात्रै बुझ्न आग्रह गरेका छन्।

प्रवक्ता बस्नेतले भनेजस्तै १४ फागुन २०८१ मा भएको सेना दिवसको अवसरमा पनि अहिले जस्तै भारत, बेलायत र अमेरिकी सेनाको ब्यान्ड टोलीले प्रस्तुति दिएका थिए। त्यतिबेला सैनिक मञ्च टुँडिखेलमा अहिले आलोचना गर्ने केपी शर्मा ओली आफैं पनि प्रधानमन्त्रीको जिम्मेवारीमा उपस्थिति थिए। जुन कुरा नेपाली सेनाको त्यतिबेलाको विज्ञप्तिमा समेत उल्लेख छ।

मित्रराष्ट्रहरूसँगको पारस्परिक सम्बन्ध, अनुभव आदानप्रदान, सैन्य कूटनीतिजस्ता विषयलाई जोड दिँदै नेपाली सेनाले संयुक्त अभ्यास गर्नेदेखि अन्य देशको सेना दिवसको अवसरमा बोलाएको बखत आफ्नो उपस्थिति जनाउँदै आएको छ।

एक महिनाअघि मात्रै १५ जनवरीमा भारतीय सेना दिवसको अवसरमा नेपाली सेनाको ३३ सदस्यीय टोलीले आफ्नो प्रस्तुति दिएको थियो। ‘मित्रराष्ट्रहरूले बोलाएको अवस्थामा हामी पनि जान्छौँ। उहाँहरू पनि आउनुहुन्छ। अमेरिका र बेलायतमा गएर पनि नेपाली सेनाले आफ्नो प्रस्तुति दिएको छ,’ सहायक रथी बस्नेत भन्छन्।

नेपाली सेना मात्रै नभएर शक्तिराष्ट्रका सेनाहरू आफ्नो सैन्य कूटनीतिलाई अब्बल बनाउन वर्षौं पहिलेदेखि यस्ता अभ्यासहरूमा निमन्त्रणा गर्ने चलन रहँदै आएको सैन्य मामिलाका जानकारहरूको बुझाइ छ।

‘अहिले जुन किसिमको टीकाटिप्पणी भइरहेको छ, यसले भूराजनीतिक विषयलाई दर्शाउँछ। भूराजनीतिक रूपमा हामी कति संवेदनशील ठाउँमा छौँ भन्ने हिजोको घटनाले बुझाउँछ। त्यहाँ अमेरिकी सेना मात्रै नभएर अन्य देशका सेनाले पनि प्रस्तुति दिएका थिए। तर विषय अमेरिकी सेनाको मात्रै उठ्यो,’ एक पूर्वउपरथी भन्छन्।

नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात भने आइतबारको घटनामा अनावश्यक टिप्पणी गरिएको रूपमा अर्थ्याउँछन्।

‘नेपालको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउनेमध्येको एउटा महत्त्वपूर्ण अङ्ग हो नेपाली सेना। जसले आफ्नो डिफेन्स कूटनीतिमार्फत परराष्ट्र नीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ,’ उनी भन्छन्, ‘अमेरिका, बेलायत जस्ता शक्तिराष्ट्रका सेनालाई नेपालजस्तो मुलुकले निम्तो गरेर ल्याउन सक्नुलाई डिफेन्स कूटनीतिको सफलताको रूपमा हेर्नुपर्छ।’

डिफेन्स कूटनीतिको यो सम्बन्ध नौलो नरहेको र यसलाई राजनीतीकरण गर्नु आवश्यक नरहेको उनको बुझाइ छ।

यसअघिका सेना दिवसमा पनि बाह्य मुलुकका सेनाको उपस्थिति नौलो होइन। २०७७ सालको सेना दिवसमा काठमाडौँस्थित अमेरिकी दूतावासका सैनिक सहचारी लेफ्टिनेन्ट कर्णेल म्याट शोभलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको थियो।

२०७८ सालको सेना दिवसमा बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्’ ले प्रस्तुति दिएको थियो। २०७९ सालको सेना दिवसमा भारतीय सेनाको ‘इलेभेन्थ गुर्खाज् राइफल रेजिमेन्टल सेन्टर’ र बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्’ ले ब्यान्ड डिस्प्ले गरेको जङ्गी अड्डाको रेकर्डमा छ। २०८० सालमा भारत, बेलायत र अमेरिकाका सेनाले प्रस्तुति दिएका थिए।

यति मात्रै होइन, सैनिक सहचारीहरू र युवा आदानप्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरूको पनि उपस्थिति थियो।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न भन्दै नेपाली सेनाको ब्यान्ड, बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्’, सशस्त्र प्रहरीको ब्यान्ड र नेपाल प्रहरीको ब्यान्डले काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रस्तुति दिएका थिए।

त्यतिबेला ९ फागुन २०७६ मा वसन्तपुरमा, २३ फागुनमा भक्तपुर दरबार स्क्वायरमा र २४ फागुनमा ललितपुर दरबार स्क्वायरमा सांस्कृतिक प्रस्तुति दिएका थिए।

संयुक्त सैन्य अभ्यास, ‘आर्मी डे’ मा हुने सेलिब्रेसनजस्ता विषयमा अन्य मुलुकका सैनिकहरूको सहभागिता सामान्य नै हुने जानकारहरूको बुझाइ छ। विगतमा हुने यस्ता निरन्तर अभ्यास तथा सम्बन्धहरू कतिपय सन्दर्भमा भने विवादित बन्ने गरेको सैन्य मामिलाका जानकार इन्द्र अधिकारीको बुझाइ छ।

‘यसअघिका सेना दिवसमा पनि बाह्य मुलुकका सेनाले ब्यान्ड प्रस्तुति दिने गरेका थिए। नेपाली सेनाले पनि बाह्य मुलुकमा गएर प्रस्तुति दिन्छ। यो विषय नौलो होइन। तर सन्दर्भमा अलिकति ध्यान नदिँदा आलोचना भएजस्तो लाग्छ,’ अधिकारीले अनलाइनखबर सँग भनिन्, ‘जेनजी घटनापछि नागरिकले सेनामाथि जुन प्रश्न गरे, त्यो सन्दर्भको पेरिफेरीमै अमेरिकी सेनाले प्रस्तुति दिँदा आशङ्का गर्नेहरूलाई मलजल पुगेको देखिन्छ।’

बाह्य सेनाले प्रस्तुति दिने हुँदा आम मानिसलाई यसबारे पहिल्यै सेनाले सुसूचित गर्नुपर्नेमा भने सेना चुकेको उनको बुझाइ छ।

‘अहिलेको सन्दर्भमा सेनाले निम्तो नदिन पनि सक्थ्यो। यदि बोलाउने नै हुँदा पब्लिकलाई सुसूचित गर्ने रणनीतिमा भने चुकेको देख्छु,’ अधिकारी भन्छिन्।

अधिकारीले भनेजस्तै अर्को चुनावी सन्दर्भलाई लिएर पनि विभिन्न आशङ्का गरिएपछि निर्वाचन आयोगले समेत प्रस्टीकरण दिनुपर्‍यो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा यसलाई विश्वव्यापी परम्परा र मित्रताको प्रतीकको रूपमा अर्थ्याएका छन्।

प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार