२०८३ जेठ २० , बुधबार

संसदीय इतिहासमै नभएको प्रधानमन्त्री शाहको व्यवहार



प्रधानमन्त्री बालेन्द्र शाहले संसदीय मर्यादाको उल्लंघन गरेका छन्।  सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा शाहले संसदीय इतिहासमै नभएको व्यवहार देखाएका हुन्।

राष्ट्रपतिले आफ्नै नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाहले उठेर हिँडेका हुन्।

राष्ट्रपतिले प्रस्तुत गर्ने परम्परा भए पनि नीति तथा कार्यक्रमलाई सरकार वा प्रधानमन्त्रीको कार्यक्रम मानिन्छ। शाहले आफ्नै कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरिरहँदा ‘बहिस्कार’ गरेका हुन्।

राष्ट्रपतिले एक घण्टा १८ मिनेट लगाएर नीति तथा कार्यक्रम वाचन गरिरहँदा शाह करिब ५६ मिनेटमा बाहिर निस्किएका थिए। त्यसपछि उक्त बैठकमा सदनमा फर्किएनन्। संयुक्त बैठकपछि धन्यवादको प्रस्ताव पेश गर्न बसेको प्रतिनिधिसभाको बैठकमा भने शाह पुनः उपस्थित भएका थिए।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि उनले धन्यवादको प्रस्ताव टेबल गरे। तर कुर्सीमा नबसी फेरि संसद बैठकबाट बाहिरिए। प्रधानमन्त्री बाहिरिँदा सभामुख अर्याल केही अलमलमा परेका थिए।

प्रधानमन्त्री शाहको उक्त असंसदीय गतिविधिप्रति विपक्षी एमालेले आपत्ति जनायो।

एमालेका सांसद गुरु बरालले प्रधानमन्त्रीबाट संसदीय मर्यादाको उल्लंघन भएको भन्दै सच्याउन माग गरे। उनले राष्ट्रपतिबाट नीति कार्यक्रम वाचन भइरहँदा प्रधानमन्त्री नै सदन छाडेर जानु, राष्ट्रिय पोशाक नलगाएको विषयले नीति कार्यक्रमप्रति उनको धारणा के भन्दै प्रश्न गरे। नियम आपत्तिका लागि समय दिन पनि अर्यालले आनाकानी गरेका थिए। केही मिनेट सचिवालयसँग सल्लाह गरेपछि मात्रै उनले बराललाई समय दिए।

बरालले भने, ‘राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ। देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो, बिचैमा उहाँले बहिष्कार गरेर हिँडेको हामीले देख्यौँ। देशले यो नीति र कार्यक्रम प्रति उहाँको ओनरसीप के हो, यो संसदले बुझ्न चाहन्छ।’

त्यस्तै बरालले राष्ट्रिय पोशाक नलाएको र अगाडि बसेर गफ गरेकोप्रति पनि आपत्ति जनाए।

‘राष्ट्रिय महत्वका बैठकहरू संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नु पर्ने हो कि होइन? चलन त्यसै चल्दैन चलाएपछि चल्छ, हामीले कस्तो चलन चलाउने हो यो देशमा? म सभामुख महोदय मार्फत यस विषयमा रुलिङको माग गर्दछु,’ एमाले सांसद बरालले अगाडि भने, ‘बैठक चलिरहेको छ, बैठकमा निश्चित मर्यादाहरू हुन्छन्। करिब राष्ट्रपतिज्युको टोटल सम्बोधनको करिब १५ मिनेट सभामुख महोदय, फ्रन्टलाइनमा बसेर प्रधानमन्त्रीज्यूले के संवाद गरिरहनु भएको थियो, के छलफल गरिरहनु भएको थियो? यो संसदीय मर्यादाले नसुहाउने र अशोभनीय कुरा भएको हुनाले त्यो रेकर्डबाट त्यो चिजलाई डिलिट गरियो भने पछिका लागि नजिर सही बस्नेछ। यस अर्थमा यी तमाम मूल्य, मान्यता, मर्यादालाई सच्याउनका लागि म हार्दिक अनुरोध गर्दछु।’

बरालाको आपत्तिपछि सभामुखले सचिवालयले त्यस विषयमा हेर्न निर्देशन गरे।

राप्रपाकी सांसद खुश्बु ओलीले पनि संसदीय मर्यादाविपरीत प्रधानमन्त्रीबाट फरक व्यवहार भएकोप्रति दुःख व्यक्त गरिन्।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार