काठमाडौँ–रूपन्देही क्षेत्र नम्वर ३ उपनिर्वाचनको मिति आउन तीन महिना भन्दा बढी समय बाँकी रहँदै चुनावी माहौलको राप र ताप सुरु भएको छ।
२०७९ सालको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति घोषणा गरेको छ।
निर्वाचन क्षेत्र नम्वर ३ भित्र बुटवल उपमहानगरपालिकादेखि भारतीय सीमा क्षेत्र बेलहिया नाकासम्म विभिन्न सात वटा स्थानीय तह पर्छन्। सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाका सबै वडा समेटिएको उक्त निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाको १४ देखि १९ सम्मका वडा, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन्।
२०७९ सालको निर्वाचनमा एक शब्द पनि चुनावी भाषण नगरेरै बोहराले बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई २ हजार ६८१ मतान्तरले पराजित गरेका थिए। बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए। यद्यपि केन्द्रबाटै गठबन्धन गरेका कारण राप्रपाका बोहरालाई एमालेको साथ थियो।
२०७४ सालको निर्वाचनमा भने नेपाली कांग्रेससँगको साथ लिएर चुनाव लडेका बोहरालाई नेकपा एमालेका तर्फबाट घनश्याम भुसालले पराजित गरेका थिए। बहुदलपछि भएका निर्वाचनको परिणाम हेर्ने हो भने उक्त क्षेत्रको एउटा बाहेक अन्य सबै निर्वाचनको परिणाम नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपामा केन्द्रित छ।
बहुदल प्राप्तपछि पहिलो पटक २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका सो क्षेत्रमा २०५१ सालको मध्यावधि निर्वाचनमा भने एमालेका धनपति उपाध्याय विजयी भएका थिए। उपाध्यायको निधनपछि रिक्त क्षेत्रमा २०५२ सालमा भएको उपनिर्वाचनमा एमालेकै घनश्याम भुसाल विजयी भए भने २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले नतिजा उल्ट्याएका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने सद्भावना पार्टीका ओमप्रकाश यादव विजयी भए। २०७० सालको निर्वाचन अघि निर्वाचन क्षेत्रको केही भूगोल हेरफेर भएको छ। अहिले क्षेत्र नम्वर ३ मा पर्ने क्षेत्रहरू त्यति बेला क्षेत्र नम्वर २ र ३ मा पर्थे।
२०७० सालको संविधानसभा निर्वाचनमा अहिले क्षेत्र नम्बर ३ मा नै पर्ने तत्कालीन क्षेत्र नम्बर २ बाट बोहरा र क्षेत्र नम्बर ३ बाट खाँण विजयी भएका थिए। धेरै सहरी र थोरै ग्रामीण क्षेत्रका मतदाता रहेको क्षेत्र नम्वर ३ मा तराई र पहाडको मिश्रित समुदायको बसोबास छ।
यसअघिका निर्वाचनको परिणाम हेर्दा त्यहाँका मतदाताले हरेक पटक जसो आफ्नो मत र मन बदल्दै आएका छन्। त्यसैले पनि राजनीतिक दलहरू र त्यहाँका मतदाताको मात्र नभई अन्य सर्वसाधारणको ध्यान समेत उपनिर्वाचनको मिति घोषणा भएपछि रूपन्देहीतर्फ केन्द्रित भएको छ।
त्यसो त बोहोराको निधनपछि नै उपचुनावको चासो भने भएको थियो। उपनिर्वाचनको मिति घोषणासँगै चुनावी सरगर्मी थप बढेको छ।
सानाठूला सबै पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न सक्रियता बढाएका छन्। मतदाताले औपचारिक र अनौपचारिक कार्यक्रममा उपनिर्वाचनको चर्चा गर्न थालेका छन्।
मतदाताहरू चुनावी छलफलमा केन्द्रित हुँदा राजनीतिक दलका नेताहरू टिकट लैजाने दौडधुप गरिरहेका छन् भने कतिपय व्यक्तिहरूले स्वतन्त्रबाट उम्मेदवारीको अनौपचारिक रुपमा घोषणा नै गरिरहेका छन्।स्वतन्त्रबाट सागर ढकालको चर्चा छ। कांग्रेस सभापति एवं मुलुकका पटक पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँग डढेलधुरामा गत चुनाव लडेका सागर ढकाललाई रुपन्देहीमा चुनाव जितेको हेर्ने धेरैको चाहना रहेको सामाजिक सञ्जालमा देखिन्छ। बाहिरबाट हेर्दा उनको लोकप्रियता हुनु र त्यहि क्षेत्रका नागरिकले चुनाव जितेर पठाइदिनु भने फरक विषय हो। सागर ढकालले आफैँ मुख खोल्नु भन्दा पनि अन्यले चाहेका छन्। यद्यपी ढकालले पनि भित्रभित्रै चुनावी तयारी गरेको भने बुझिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपनिर्वाचनको उम्मेदवारको लागि ६ जनाको नाम सिफारिस भएको छ। स्वाती थापा र वसन्तविक्रम शाही, रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्वलन बोहरा तथा जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस गरेको छ। केन्द्रीय सदस्य थापा नाताले स्वर्गीय बोहराकी नातिनी पर्छिन्। थापा २०७९ को निर्वाचनमा राप्रपाको चुनावी कमान्डर थिइन्।
विगतदेखि नै आफ्नो पकड स्थापित गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेबाट पनि जिल्लादेखि केन्द्रसम्मका नेताहरू आकांक्षी देखिएका छन्। कांग्रेस, एमाले, माओवादी, मधेस केन्द्रित दलहरूले समेत सकभर स्थानीय तथा राष्ट्रिय स्तरमा लोकप्रिय र मतदाताको मनोभावना बुझ्ने उम्मेदवारको खोजीमा छन्।
नेकपा एमालेबाट पोलिटब्युरो सदस्यद्वय खिमलाल भट्टराई, दधिराम न्यौपाने, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेल र सिद्धार्थनगर नगरपालिकाका पुर्व नगरप्रमुख हरि अधिकारी आकांक्षी छन्। नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँण, नेता प्रमोदकुमार यादव, जिल्ला उपसभापति अनिता शाह, पूर्व सभापति रामचन्द्र ढकाल पनि आकांक्षी छन्।
यस्तै राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्र सहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी खुलेका छैनन्। एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको लागि सार्वजनिक रूपमा आवेदन माग गरेको छ।
रास्वपाले सहकारी अभियन्ता ज्ञानु पौडेल रास्वपा बाट उठ्ने चर्चा छ। राजनीतिक दलहरूले उम्मेदवार खोजी गरिरहँदा कतिपय व्यक्तिहरूले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका खाद्य सल्लाहकार सन्तोष गिरी पनि उपनिर्वाचनमा लड्ने चर्चा छ।
बालेन समर्थक र रास्वपाबीच सहमति कायम गर्न सके जीत निकाल्न सकिने भन्दै उनीहरू एक जना उम्मेदवार खडा गर्न कसरत गरिरहेको बताइन्छ। तिलोत्तमा घर भएका ३३ वर्षीय गिरीले पछिल्लो समय निर्वाचन क्षेत्रमा मतदातासँग भेटिरहेको स्थानीय बताउँछन्। बुटवलका लेखनाथ गैरेले स्वतन्त्रबाट उम्मेदवारी नै घोषणा गरिसकेका छन्।
भैरहवाका व्यवसायी अजय कुमार गुप्ताले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। इट्टा उद्योगी गुप्ताले गत वैशाखमा मात्रै राप्रपा रुपन्देहीको उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए। यस्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने ७ दलबिच सहमति भएको थियो।
नागरिक उन्मुक्तिबाट गत आम चुनावमा रुपन्देही १ को प्रतिनिधिसभा सदस्य चुनावमा पराजित धनिराम चौधरी उम्मेदवार बन्ने चर्चा छ। निर्वाचन आयोगका अनुसार रुपन्देही क्षेत्र नम्वर ३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन्। रुपन्देही ३ मा २०७९ सालको निर्वाचनमा ९० हजार हाराहारी मत खसेको थियो।








प्रतिक्रिया दिनुहोस्