२०८२ चैत २८ , शनिबार

पाकिस्तानविरुद्ध खनिए मोदीः आतंकवादलाई संरक्षण गरेको आरोप



काठमाडौं । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप लगाएका छन् । भारतीय समयअनुसार सोमबार बेलुकी ८ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।

‘हामी आतंककारीको संरक्षक सरकार र आतंककारीको आँखालाई अलग–अलग रुपले हेर्ने छैनौं,’ उनले भने, ‘पाकिस्तानको फौज र पाकिस्तानको सरकारले जुन तरिकाले आतंकवादलाई प्रश्रय दिइरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गर्छ ।’ पाकिस्तानलाई यदी बच्नुछ भने उसले त्यहाँ भएका आतंकको संरचनालाई ध्वस्त गर्नुपर्ने उनले बताए ।

‘यसबाहेक शान्तिको कुनै बाटो छैन, भारतको मत एकदम स्पष्ट छ: आतंकवाद र संवाद एकसाथ हुँदैन,’ मोदीले भने, ‘आतंकवाद र व्यापार एकसाथ चल्न सक्दैन । पानी र रगत पनि एकसाथ बग्न सक्दैन ।’ युद्धविरामका लागि दुवै पक्ष सहमत भएपछि जनजीवन सामान्य हुँदैछ ।

विमानस्थलहरू खुलेका छन्, सीमा क्षेत्रमा साइरनका आवाज सुनिँदैनन् । तर, दुई देशबीच पानी बाँड्ने सिन्धु जल सन्धि खारेजीको निर्णयबाट भारत पछि हटेको छैन ।

यस्तोमा उनले ‘नदी र रगत एकसाथ बग्न नसक्ने’ टिप्पणी गरेका हुन् । अमेरिकासहित साउदी अरब, बेलायत लगायतका मुलुकको मध्यस्थतामा शनिबार दुवै मुलुक युद्धविरामका लागि सहमत भएका थिए । भारत र पाकिस्तानबीच युद्धविराम हुन लागेको सूचना समेत सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनले भनेका थिए, ‘रातभरिको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुसी छु ।

विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार