२०८३ वैशाख ३ , बिहीबार

जेनजी आन्दोलनले समेत हटाउन सकेन शीर्ष नेताको अहंकार



मुलुकमा जेनजी आन्दोलनपछि पुराना दलहरुको अवको भूमिका र जिम्मेवारीबारे आम नागरिकको चासो र प्रश्न छ।
मुख्यत भ्रष्टाचार सुन्य लगायतका माग राखेर जेनजी पुस्ता हिंसात्मक रुपमा अघि बढ्दा ७० जनाभन्दा धेरैको ज्यान गएको छ। सयौँ घाईते उपचाररत छन्।

घटनापछि कांग्रेस एमाले र माओवादीमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने चर्चा भएपनि व्यवहारमा त्यो हुन भने कठिन देखिएको छ।
जनताको मतादेशलाई सम्मान गरी आम नागरिकमा प्रतिफल दिन सफल भएको राज्य प्रणाली दिगो भएका देखिन्छन्।
निर्वाचनबाट अद्यावधिक बहुमत प्राप्त गर्दैमा मात्र पनि शासनले वैधता प्राप्त गर्दैन भन्ने कुरा श्रीलंका, बंगलादेश र पछिल्लोपटकको नेपालको अवस्थाले समेत देखाएको छ।

आज विश्वका कतिपय मुलुक असफल भएका छन्। जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसक्ने, विधिको शासनबाट नचल्ने, सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसक्ने, नागरिकका अधिकारको संरक्षण गर्न नसक्ने राज्य व्यवस्था भयो भने त्यस्तो राज्य असफल हुन्छ।
अफगानिस्तान, सिरिया, लेबनान, सुडान जस्ता राज्यहरू असफल भएका छन्। नेपाल कमजोर राज्यको रूपमा रहेको छ, बेलैमा सुधार गर्न सकिएन भने असफल हुनसक्ने स्थिति हुन्छ।

कुनै पनि समाजमा अहंकार र दम्भले विनाश निम्त्याउँछ। रावणको अहंकारले लंका समाप्त भएको, सद्दाम हुसेनको अहंकारले इराक सकिएको, हिटलरको अहम्ले विश्व ध्वस्त भएको दृष्टान्तहरू छन्।  दक्षिण अमेरिका, यूरोप र एशियाका कतिपय शासकहरूले देश छोडी भागेको अवस्था छ।

नेपालको राणाशासन र पञ्चायत व्यवस्था, राजतन्त्र यही अहंकार, दम्भ, कुशासनले समाप्त भयो। सत्तामा बसेकाहरूले भजनमण्डलीको घेरा भन्दा बाहिरको अवस्था बुझ्न नसक्दा शासनबाट बहिर्गमन भएका विश्व घटनाहरू देखिन्छ। नेपालमा पनि देखिएको छ। सत्ता स्वभावैले स्वेच्छाचारी हुन्छ।

आफ्नो अनुकूल र स्वार्थ समूहको हितमा काम गरी भ्रष्टाचारमा लिप्त हुन्छ। कुरा विधिको शासनको गर्ने, व्यवहार र भूमिका बिचौलिया प्रभावमा गर्ने स्थितिले सरकारप्रति आम जनताको वितृष्णा बढेको हुन्छ। जनताले सरकारबाट सुविधा र प्रतिफलको अपेक्षा गरेका हुन्छन्।
जनताको चाहना र आकांक्षालाई नबुझ्ने सरकार भयो र निहित स्वार्थ समूहको घेराभित्र नै रमाइरह्यो भने स्वतः पतन हुन्छ।

यस्ता कुरामा राजनीतिक दल, तिनका नेतृत्व र सरकार सञ्चालन गर्नेहरूले समयमै बुझेनन् भने मुलुकले ठूलो पीडा भोग्नुपर्ने हुन्छ।
नेपालमा जनताले पटक–पटक गरेको क्रान्ति, जनआन्दोलन र सशस्त्र विद्रोह मार्फत निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापना गरेको भए पनि राजनीतिक शक्ति र दलहरूको क्रियाकलापले परिवर्तनलाई संस्थागत गर्न नसक्दा व्यवस्थाहरू बदलिएका छन् संविधान च्यात्तिएका छन्।

यस पृष्ठभूमिमा संविधानसभाले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा र संकल्प सहितको संविधान जारी गरेको भए पनि निर्वाचित सरकारहरूले जनआकांक्षा अनुरुप सुशासन दिन नसक्दा युवा पिंढीमा राजनीतिक दलहरूप्रति वितृष्णा सुषुप्त रूपमा बढ्दै गएको अवस्था थियो।

जसको परिणाम २३ भदौमा जेनजीहरूले सडकमा गरेको विद्रोहले ठूला दलहरूले बनाएको बहुमतको सरकार धरासायी बनाइदियो।
७ बुँदे सहमतिबाट गठन भएको बहुमतको सरकारले न त संविधान संशोधनको विषय नै अगाडि बढाउन सक्यो, न त सुशासनको स्थिति नै कायम गर्न सक्यो।

भ्रष्टाचार बढ्दै गयो, जनमत ठूला दल र सरकारको विरुद्धमा संगठित हुँदैगयो। युवा समूह, आधुनिक प्रविधि, सामाजिक सञ्जालको अभिन्न अंग बनेको अवस्थामा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले युवा जेनजी पुस्तालाई सडकमा विद्रोहमा र्पुयाउने पृष्ठभूमि तयार र्गयो।
सुशासन, जवाफदेही सरकार र भ्रष्टाचारको रोकथाम र नियन्त्रणको विषय उठाई जेनजी समूहले गरेको आन्दोलन अन्ततः विध्वंसात्मक रूपमा परिणत हुनपुग्यो।

२३ भदौमा राज्य पक्षबाट प्रयोग गरिएको अत्यधिक बलका कारण भएको घटना र त्यसको परिणाम २४ गते अनेकौं घुसपैठ र आपराधिक समूहले राज्यका महत्त्वपूर्ण, ऐतिहासिक भवन, कागजात जलाउने, तोडफोड गर्ने र खास नेता र जनप्रतिनिधिहरूका निजी घर समेत जलाउने कार्य भयो। यस्तो दुस्खद् अवस्था नेपालप्रति माया भएको नेपालीले कसरी गर्न सक्यो होला ? भन्ने प्रश्न देशभक्त नेपालीको मनमा उब्जिरहेको छ।

जेनजी आन्दोलनले जनताका वर्तमान आवश्यकतालाई उठान गरेकाले पुराना दलहरूलाई आफ्ना विधान, रणनीतिक कार्ययोजनामा पुराना विचार, नारा र एजेन्डालाई परिमार्जन गर्ने अवसर मिलेको छ। जनताको आधारभूत वास्तविक सरोकार (रोजगार, शिक्षा, स्वास्थ्य, पारदर्शिता आदि) तर्फ ध्यान केन्द्रित गरेर अघि बढ्नुपर्ने प्रेरणा मिलेको छ।

पुराना पार्टीहरूमा नेतृत्व वृद्ध पुस्ताको एकाधिकार रहिरहेकाले जेनजी आन्दोलनले युवाहरूको नेतृत्व क्षमता देखाएर पार्टीहरूलाई युवा अनुहार अघि सार्न बाध्य बनाएको छ। नेतृत्व हस्तान्तरण तथा दोस्रोर तेस्रो पुस्ता तयार पार्ने सन्दर्भमा नयाँ सोच ल्याउने अवसर मिलेको छ।
यद्यपी दलका पुराना नेताहरु त्यो बाटो हिड्न खोजेका छैनन्।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार