चालु आर्थिक वर्ष सुरु भएयता घरजग्गा कारोबारमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष केही चलायमान देखिएको घरजग्गा कारोबार फेरि घटेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत साउनमा कारोबारमा गिरावट आएको छ ।
साउन २०८१ मा नेपालभरि ४३ हजार ८ सय ३५ वटा घरजग्गा कारोबार भएको थियो। साउन २०८२ मा भने ३१ हजार ६ सय २१ वटा मात्रै घरजग्गा कारोबार भएको छ। जुन गत आव सोही महिनाको तुलनामा २८ प्रतिशतले कम हो। गत असारको तुलनामा यो ४३ प्रतिशतले कम हो।
गत असारमा देशभरि ५५ हजार ५ सय २४ वटा कारोबार भएको थियो।
गत आव ५ लाख ९० हजार ५ सय ४३ घरजग्गा कारोबार भएको थियो। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३ हजार २० घरजग्गा कारोबार भएको छ । साउनमा ललितपुर लगनखेल मालपोत कार्यालयबाट ६ सय १६ र गोटीखेल मालपोत कार्यालयबाट ६ वटा मात्रै घरजग्गा कारोबार भएको छ। यस्तै भक्तपुर मालपोत कार्यालयबाट ८ सय २० कारोबार भएको छ।
यस्तै काठमाडौंमा डिल्लीबजार मालपोत कार्यालयबाट १ सय ६३, चाबहिल मालपोत कार्यालयबाट ३ सय ६२, कलंकी मालपोत कार्यालयबाट ४ सय ६६, मनमैजु मालपोत कार्यालयबाट २ सय ४, साँखु मालपोत कार्यालयबाट २ सय ६३ र टोखा मालपोत कार्यालयबाट १ सय ११ घरजग्गा कारोबार भएका छन्।
साउनमा भारी गिरावट आएको घरजग्गा कारोबार भदौमा पनि निराशाजनक रहेको व्यवसायीले बताएका छन्। लचिलो मौद्रिक नीति आएपछि घरजग्गा कारोबारमा उछाल आउने अपेक्षा गरे पनि कित्ताकाट रोकिँदा ठूलो समस्या आएको नेपाल जग्गा तथा आवास विकास महासंघले जनाएको छ।
उनका अनुसार स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा कित्ताकाट पनि हुन सकेको छैन। त्यसले घरजग्गा कारोबार प्रभावित भएको छ।
‘घरजग्गा कारोबार सबैतिरबाट बन्द भएको अवस्था छ । राष्ट्र बैंकको नीति आएपछि हामी अलि उत्साही भएका थियौं।
बैंक तथा वित्तीय संस्थाले पनि घरजग्गालाई कारोबार गर्न भ्यालु रेसियो बढाउने, होम लोन गर्नेलाई पनि २ करोडदेखि ३ करोडसम्म दिने भनेर राष्ट्र बैंकको नीति आइसकेपछि उत्साहजक तवरले व्यवसायी अघि बढिरहेका थियौं,’ महासंघले भन्यो,‘त्यो हुँदाहुँदै कित्ताकाट बन्द भयो र झ्याप्पै रोकियो।
कित्ताकाट रोकिनु र बन्द हुनु सरकारकै कुरा हो। सरकारले वर्गीकरणको एक वर्ष म्याद थपेको थियो। त्यो असारमा सकियो।
असारमा सकिएपछि साउन १ बाट कित्ताकाट रोकियो। सरकारले समयमै नखुलाउँदा घरजग्गा व्यवसाय ठप्प हुँदैछ।’
घरजग्गा कारोबार प्रभावित हुनुमा आर्थिक शिथिलता पनि एउटा कारण रहेको महासंघको भनाई छ। सरकारले कित्ताकाट अब पनि नखुलाए अवस्था झन् भयावह हुने महासंघले चेतावनी दिएको छ।








प्रतिक्रिया दिनुहोस्