काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार सम्पन्न भएको छ । गत शुक्रबारदेखि चार दिनसम्म व्यापक, गम्भीर र जीवन्त बहससहित स्थायी समिति बैठक सम्पन्न भएको हो । सकरात्मक निस्कर्षसहित बैठक सकिएको नेताहरुको दावी छ।
बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता आवश्यक रहेको मान्यता सबैले अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
साथै, बैठकले निजी स्वार्थमा आधारित, पार्टी हित विपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहहरूको अन्त्य गर्ने सामूहिक सङ्कल्प व्यक्त गरेको छ ।
प्रतिगमन र यथास्थितिवादको विरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रूपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ । त्यस कार्यभार पूरा गर्न पार्टीको रूपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाइने निर्णय गरिएको छ ।
साथै नेकपा (विप्लव) लगायतका क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षा समेत गरिएको छ ।
अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई २०८२ भदौको तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्