२०८२ चैत २६ , बिहीबार

ओलीकै अदृष्य समर्थनमा भण्डारी फेरि सक्रिय राजनीतिमा आएकी त होइनन्?



काठमाडौँ- एमालेमा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको पुनरागमनपछि नेताहरुको कित्ताकाट देखिनेगरी भएको छ। भण्डारी पक्ष र मुलुकका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविच काटाकाटको स्थिती देखिएको छ।

नेताहरु दुई समूहमा विभाजित छन्। ओलीकै चाहनामा विद्या भण्डारी सक्रिय राजनीतिमा आएको पनि हुन सक्ने अड्कलबाजी पनि भएका छन्। एमालेमा ओलीको ईच्छा विपरित सक्रियता बढाए नेताहरु डा भीम रावल, डा बिन्दा पाण्डे, नेतृ उषाकिरण तिम्सीनाहरु जस्तै बन्नुपर्ने हुन्छ।

त्यहि डरले पनि एमालेमा सुनिनेगरी नेताहरुले विरोधको आँट गर्दैनन्। तर विद्या भण्डारी कुन शक्ति र सहयोगमा एमालेमा फर्किएकी हुन् त? यहाँ शंका गर्ने प्रशस्त आधार छन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आपसी समझदारीमै एक अर्का विरुद्ध उभिएको टिप्पणी हुन थालेका छन्।

हिजोका दिनमा एमालेमा पार्टी संस्थापनलाई चुनौती दिन देखि संसद विघटनसम्म एक अर्कालाई हदैसम्म साथ दिएका ओली भण्डारीको अहिलेको भिन्न भिन्न बाटो हिड्दै गरेको गतिविधिलाई एमालेभित्रै शंकाको नजरले हेर्नेहरु पनि छन् तर मुख खोल्न सकेका छैनन्।

मदन भण्डारी फाउन्डेसनमार्फत गुट विस्तारदेखि संसद् विघटनसम्म एक–अर्कालाई निशर्त साथ दिएका ओली र भण्डारी पछिल्ला महिनाहरुमा आ– आफ्नै बाटो लागेका छन्। बास्तवतमै आ– आफ्नो बाटो लागेका हुन् वा ओली र भण्डारी आ–आफ्नो बाटो लागे जस्तो देखिएका हुन्? यो गम्भीर प्रश्न हो। भण्डारी एमालेको सातौं महाधिवेशनसम्म पार्टी केन्द्रीय सदस्य मात्रै थिइन्। एमालेको पार्टी राजनीतिभन्दा पनि गुटको राजनीतिमा उनको महत्व धेरै थियो, जुन भण्डारी आफै र नेता केपी शर्मा ओली मिलेर सञ्चालन गरिरहेका थिए।

उनीहरूको आवरणमा भने मदन भण्डारी फाउन्डसेन थियो। २०५० साल जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमालेले उनीहरूको स्मरणमा मदन–आश्रित फाउन्डेसन खोलेको थियो।

तर, पार्टी राजनीतिभन्दा पर पनि राजनीति गर्नै चाहेर हुनसक्छ २०५६ सालमा मदन भण्डारी फाउन्डेसन खोलेर भण्डारी र ओलीले राजनीतिक गतिविधि गर्न थाले।

पार्टीभित्रै अर्को पार्टी सञ्चालन भएको थाहा पाउँदापाउँदै पनि एमालेको संस्थापन पंक्ति त्यसबेला चुपचापजस्तै थियो, किनभने मदन भण्डारीका नाममा खोलिएका संस्थाहरूमाथि प्रश्न गर्नु नेतृत्व स्वयं प्रश्नको कठघरामा उभिनु थियो। त्यतिवेला ओली र भण्डारी एक ठाउँमा उभिदा एमाले चुपचाप थियो भने अहिले तिनै ओली र भण्डारी दुई ध्रुवमा उभिदा एमाले चुपचाप छ।

ओली र भण्डारीका गतिविधि देखेर पनि एमाले नेताहरुले नदेखेझै गरेका छन्। यतिसम्म कि भण्डारीले एमालेको नेतृत्व गर्छु भनेर खुलेआम भन्दा समेत एमाले नेताहरुले सुनेका छैनन्। उनिहरुले साच्चिकै सुनेका छैनन वा नेतृत्वले नसुन्नु भनेको छ? यसको जवाफ एमाले नेताहरुले मुखले दिन सक्दैनन्।

यतिसम्म कि ओली नेतृत्व सरकारका मन्त्री समेत रहेका एमालेका एक शीर्ष तहका पदाधिकारीले केहि दिन अघि एक सार्वजनिक कार्यक्रममा नै विद्या भण्डारी एमालेमा सक्रिय हुन खोज्ने खालको कुनै गतिविधि आफूले नदेखेको हास्यास्पद अभिव्यक्ति दिएका थिए।

विद्या भण्डारी राजनीतिमा फेरि सक्रिय हुन थालेको गतिविधी ति एमाले शीर्ष नेताले आफै देखेनन् वा ओलीले नेदेख्न भने कि विद्याले?
यहाँ भित्र केहि न केहि चालवाजी त पक्कै रहेको एमालेकै दोस्रो तेस्रो तहका नेताहरु अनौपचारिक कुराकानीमा बताउँछन्।

एमालेमा खुलेआम विरोध गर्ने छुट नभएको कारण पनि ओली र भण्डारीका गतिविधि टुलुटुल हेरेर बस्नुको विकल्प छैन। ओली र भण्डारीले सहमतिमा नै विमतिहरु देखाइरहँदा पनि नेताहरु बोल्न सकेका छैनन्। किनकि एमालेमा विरोध बर्जित छ।

भण्डारी राजनीतिमा आउन ठिक्क पर्दै गर्दा ओलीले एमालेमा तेस्रो कार्यकालका लागि पनि अध्यक्ष ताक्नु ओली भण्डारीको सल्लाहमै रणनीति बनाएको हुन सक्ने अड्कलवाजी भएका छन्। एमालेको नवौं महाधिवेशन २०७१ असारमा काठमाडौंमा भयो । उक्त महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित र्गयो।

त्यसअघि नै संसदीय दलको निर्वाचनमा झलनाथ खनाललाई पराजित गरेर ओली पार्टी राजनीतिको मूलधारमा जबरजस्त उदाइसकेका थिए।
त्यसमा विद्या भण्डारीको साथ छुट्ने कुरै भएन। एमालेको नवौं महाधिवेशनमा ओली अध्यक्ष हुँदा भण्डारी उपाध्यक्ष भइन्। एमालेमा नयाँ शक्तिको उदय भयो

१५ वर्षदेखि माधवकुमार नेपाल र ५ वर्ष झलनाथ खनालको वरिपरि रहेर राजनीति गरेकाहरू छेउ लागे । कतिपय गुट परिवर्तन गरेरै ओलीको कित्तामा पुगे । एमालेका सदाबहार प्रतिपक्षीजस्तै रहेका ओली र भण्डारी पार्टी राजनीतिको सत्तातिर मोडिएपछि एमालेमा प्रश्नहरू बर्जित हुन थालेका हुन्।

नवौं महाधिवेशनको पूरै कार्यकाल ओली र भण्डारीले एमालेमा सहयात्रा गर्न पाएनन्। भण्डारी कात्तिक २्०७२ मा राष्ट्रपति निर्वाचित भइन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्ताव र पहलमा पहिलो महिला राष्ट्रपति निर्वाचित भएकी थिइन् ।

भण्डारीको पहिलो कार्यकाल त्यति विवादित भएन । दोस्रो कार्यकालमा भने ओली र भण्डारीको गठजोडले देशको संविधानमाथि नै प्रहार र्गयो । खासमा भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन चाहन्नथिन् ।

उनले आफूलाई पार्टीमै सक्रिय राजनीति गर्न मन लागेको कुरा एमाले अध्यक्ष ओलीलाई भनेकी पनि थिइन्। त्यसबेला एमालेको बैठकमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र झलनाथ खनालले राष्ट्रपति बन्ने इच्छा खुलेरै प्रकट गरेका थिए । तर ओलीकै इच्छामा विद्या भण्डारी दोस्रोपटक राष्ट्रपति भइन् ।

ओलीले दुई–दुई पटक संसद् विघटन गर्दा भण्डारीले प्रश्न र प्रतिवाद नगरीकनै सदर गरिदिइन् । यसबेला उनले राष्ट्रपतिको भूमिकामा आफूले गर्नुपर्ने दायित्वभन्दा धेरै मित्रताका हिसाबले ओलीको कदमलाई सदर गरिदिइन् भनेर आलोचना भयो।

२०७९ फागुन २८ मा राष्ट्रपतिका रूपमा कार्यकाल सकिएपछि भण्डारी आफ्नै निजी निवास बुढानीलकण्ठ सरिन्।  सक्रिय राजनीतिमा फर्किने भण्डारीको अपेक्षा त्यसैबेला पनि प्रकट भएको थियो।

भण्डारीले पूर्वपदाधिकारीको हैसियतमा सरकारले दिने कुनै पनि सुविधा नलिने घोषणा गर्नु नै पार्टी राजनीतिमा पुनरागमन हुनसक्छ भन्ने संकेत थियो। राष्ट्रपतिको भूमिकाबाट निस्किएको करिब एक वर्षपछि भण्डारी सार्वजनिक राजनीतिक कामहरूमा सक्रिय हुन थालिन्।

२०८१ जेठ १६ मा एमाले जनसंगठनहरूको भेलामा प्रमुख अतिथि भएर गएपछि धेरैले भण्डारीले अब एमालेकै राजनीतिमा पुनरागमन गरिन् भनेर अनुमान गरिसकेका थिए । भण्डारीले एमालेका नेता कार्यकर्तालाई आफैंले बोलाएर पनि उनीहरूको मन बुझेकी थिइन्।
कतिपय नेतारकार्यकर्ता ओलीबाट अब पार्टी चल्दैन भनेर भण्डारीलाई भेट्न पुगिसकेका थिए।

तर उनै भण्डारीका पुराना सारथि ओलीकै ग्राण्ड डिजाइनमा भण्डारीका राजनीतिक गतिविधि भइरहेका पनि हुन सक्ने भण्डारीकोमै पुगेका मध्ये एक नेताले शंका व्यक्त गरे। बर्षो लामो मित्रताको कारण ओली भण्डारीलाई सत्ता, शक्ती र प्रतिष्ठामा रहेकै हेर्न देख्न चाहन्छन् त्यसको लागि कसरत पनि गर्छन तर बाहिर चर्को विरोध गरेजस्तो पनि गरिरहेका छन् कि भनेर शंका गर्ने ठाउँहरु प्रशस्तै छन्।

अघिल्लो बर्ष असार १४ मा भण्डारी काभ्रेमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा गइन्। उता भण्डारी सक्रिय भइरहँदा ओलीले भने पार्टीको केन्द्रीय कमिटी बैठकमै संवैधानिक पदमा बसिसकेको मान्छे पार्टी राजनीतिमा फर्किन नहुने बताइरहे ।

उनले राष्ट्रपति भएर सम्मानित भइसकेको मान्छे पार्टी राजनीतिमा फर्किनु शोभनीय नभएको बताइरहे। तर भण्डारीलाई राजनीतिमा मुख्य हौसाला दिने पात्र उनै ओली नहोलान् भन्न सकिदैन।

नेताहरू गोकुल बाँस्कोटा र कर्णबहादुर थापाले बाहिर माहोल बनाइरहेका थिए भने पार्टीको आन्तरिक जीवनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेले अघि बढ्न हौस्याए। भण्डारीले पनि कोशी, लुम्बिनी, गण्डकीमा पुगेर नेतारकार्यकर्ताको मनस्थिति बुझिन्।
एमालेकै नेताको हैसियतमा २०८१ फागुन ५ मा थाइल्याण्ड र १० देखि १९ जेठसम्म चीनको भ्रमण गरिन् ।

त्यसपछि भण्डारी थप उत्साहित भएकी छिन्। २५ जेठमा अनेरास्ववियुको अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आउनुअघि नै नेतृत्व परिवर्तनको कुरा गरेर अध्यक्षलाई कमजोर बनाउन खोजिएको बताएका थिए।

भण्डारीले भने अध्यक्ष ओलीको अभिव्यक्ति आफूप्रति लक्षित नभएको प्रतिक्रिया दिएकी थिइन्। २७ जेठमा विराटनगरबाट काठमाडौं फर्किने क्रममा पत्रकारसँग कुराकानी गर्दै भण्डारीले उक्त विषयमा नेकपा एमालेको वर्तमान अध्यक्ष केपी शर्मा ओलीले आफैलाई नै तोकेरै, ताकेरै नभनेको बताईन्।

विराटनगरबाट फर्किएपछि भण्डारी ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्। ओली र भण्डारीका कतिपय भेट सार्वजनिक समेत नहुने एमाले कार्यकर्ताहरु बताउँछन्।

ओलीलाई भेटेर भण्डारीले अहिलेसम्म आफूले गरेका राजनीतिक भ्रमण र कार्यकर्ताको मनस्थितिबारे बताएकी थिइन् । उनले एमालेमा नेतृत्व परिवर्तनको चाहना रहेको पनि ओलीसँग भनेकी थिइन् । जवाफमा ओलीले अहिले नेतृत्व परिवर्तन गर्ने बेला नभएको भन्दै उचित समयमा छलफल गर्ने बताएका थिए ।

भण्डारीले आफ्ना निकटहरूसँग पनि यही ब्रिफिङ गरेकी छिन् । विद्या भण्डारीले नेताहरूको मनस्थिति बुझे पनि आफ्नो चाहना स्पष्ट रूपमा प्रकट नगरेकाले कतिपय नेताहरू उनकै पनि भूमिकालाई लिएर सशंकित छन्।

अर्कातिर शक्तिमा रहेका ओलीको अबको अस्त्र के हुने हो नेताहरूले भेउ पाइसकेका छैनन्। जहाँ प्रसस्तै शंका गर्ने ठाउँहरु छन्।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार