काठमाडौँ-वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन्। नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन्।
तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछ।
बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ दशमलव १० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था छ।
यस अनुसार साधारण तथा विशेष बचत खाताका ब्याजदरहरू निर्धारण भएका हुन् । बचत खातामा सबैभन्दा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशतमै राखेका छन्। तल्लो सीमा नै सबैभन्दा धेरै भने एनआईसी एसिया बैंकको ३ दशमवल १० प्रतिशत छ।
त्यस्तै, बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककै ५ दशमलव १० प्रतिशत रहेको छ। यो खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३ दशमलव २० प्रतिशत रहेको छ।
त्यस्तै, व्यक्तिगत मुद्दती खातातर्फ ३ प्रतिशतदेखि ६ दशमलव ६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ।
व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३ प्रतिशत रहेको छ। तल्लो तहमै सबैभन्दा धेरै ब्याजदर प्रभु बैंकले ५ दशमलव १० प्रतिशत अफर गरेको छ।
त्यस्तै, व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै ब्याज एनआईसी एसिया बैंकले ६ दशमलव ६० प्रतिशत दिने जनाएको छ। तल्लो सीमा भने नेपाल बैंकको ५ दशमलव ४५ प्रतिशत रहेको छ।
एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर हेर्दा भने लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३ दशमलव ५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५ दशमलव ७५ प्रतिशत रहेको देखिएको छ।
त्यस्तै, संस्थागत मुद्दती खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ दशमलव ६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ। यसमा धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३ प्रतिशत ब्याजदर दिँदै आएका छन् । तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३ दशमलव २५ प्रतिशत रहेको छ।
हिमालयन, प्राइम र सिद्धार्थ बैंकले यस्तो ब्याजदरको अफर गरेका छन्। त्यस्तै, माथिल्लो सीमामा सर्वाधिक ब्याजदर निर्धारण गर्नेमा एनएमबि बैंक र एनआईसी एसिया बैंक रहेको छ।
त्यस्तै,संस्थागत मुद्दतीको माथिल्लो तहमा सबैभन्दा धेरै ब्याज प्राइम कमर्सियल बैंकले ५ दशमलव ७५ प्रतिशत दिँदा माथिल्लो तहमा न्यूनतम कृषि विकास बैंकको ३ दशमलव २५ प्रतिशत रहेको छ।
एक वर्षे मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३ दशमलव ५१ प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। एक वर्षे मुद्दतीमा ५ प्रतिशत ब्याज दिने बैंक एनआईसी एसिया रहेको छ।








प्रतिक्रिया दिनुहोस्