२०८२ चैत २८ , शनिबार

जव ट्रम्पले पुटिनलाई पागल भने…..



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्ण रूपमा पागल भइसकेको पनि उनले भने । रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको उनले बताएका छन् ।

‘पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, तर उनलाई केही भएको छ । उनी पूर्ण रूपमा पागल भएका छन् ! उनी बिना कारण धेरै मानिसहरूलाई मारिरहेका छन्, र म केवल सैनिकहरूको बारेमा कुरा गरिरहेको छैन । युक्रेनी सहरहरूमा बिना कारण मिसाइल र ड्रोनहरू प्रहार गरिँदैछ ।’ पुटिनको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्र थ सोसल अकाउन्टमा एउटा पोस्टमा लेखेका छन् ।

‘मैले सधैँ भनेको छु कि उनी युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण युक्रेन चाहन्छन्, र त्यो सत्य साबित हुन सक्छ, तर यदि उनले त्यसो गरे भने यसले रुसको पतन निम्त्याउनेछ,’ अझ अगाडि ट्रम्पले लेखेका छन् ।

यस क्रममा ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीलाई पनि निशाना बनाए । उनले भने, ‘राष्ट्रपति जेलेन्स्कीले आफ्नो बोल्ने तरिकाले आफ्नो देशलाई कुनै राम्रो गरिरहेका छैनन् ।  उनको मुखबाट निस्कने सबै कुराले समस्या सिर्जना गर्छ, मलाई यो मन पर्दैन, र यो बन्द भए राम्रो हुन्थ्यो ।’

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको मौनताले पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए । आफ्नो पोस्टमा ट्रम्पले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि गाली गरेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ १२ गते सोमबार