२०८२ चैत २८ , शनिबार

पतञ्जलिको फाइल पनि अख्तियार पठाउने



काठमाडौं -संसद्को सार्वजनिक लेखा समितिले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहीबार बसेको लेखा समितिको बैठकले विभिन्न निकायबाट संकलन भएका पतञ्जली सम्बन्धी फाइलबारे कुनै अध्ययन नै नगरी तिनलाई अख्तियारमा पठाउने निर्णय गरेको हो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘पतञ्जलीबारे लेखा समितिमा आएको उजुरीका आधारमा विभिन्न निकायहरुबाट सोधपुछ गरी विवरणहरु मगाएका थियौं । त्यससम्बन्धी प्रतिवेदन थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अख्तियार पठाउने निर्णय भएको हो ।’

गतवर्ष संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा अनियमितता भएको भनी उजुरीको छानविनका क्रममा विभिन्न निकायहरूबाट विवरण र कागजात मगाउने निर्णय गरेको थियो ।

त्यसबारेमा थप कुनै अध्ययन र सोधपुछ नै नगरी लेखा समितिले फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । पतञ्जली योगपीठको जग्गा अनियमितताबारे अनुसन्धान गरिरहेको अख्तियारले अनुसन्धान सकिए पनि कुनै निर्णय नगरी निष्क्रियता देखाएको छ।

प्रकाशित मिति : २०८२ जेठ ८ गते बिहीबार