२०८३ वैशाख ३ , बिहीबार

अब सीटीइभीटीका कार्यक्रममा इन्ट्रान्स दिन नपर्ने



काठमाडौँ–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिन नपर्ने भएको छ । अबदेखि एसईई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिनेछ ।

त्यसका लागि परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्र् िवितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ जारी गरेको छ । निर्देशिका अनुसार एसईईमा लिएको नम्बरलाई जिपिए ४ अङ्क भार मानिएको छ।

जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई )।८५ अङ्क गणना गरी योग्यता क्रम निर्धारण गरिनेछ । वैशाख २६ गते बसेको परिषद्को २०७ औँ बैठकले निर्णय गरे परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले निर्देशिका जारी गरेको हो ।

विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा विद्यार्थी भर्ना गरिँदै आएको थियो। अबदेखि भने प्रवेश परीक्षा नलिईकनै एसईई वा प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिएको आधारमा भर्ना गरिनेछ। यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रवेश परीक्षा लिएर विभिन्न खालका नकारात्मक हल्ला फैलाउने गरेको भन्दै जिपिएलाई आधार मानेर विद्यार्थी भर्ना गरिने कार्यालयले जनाएको छ। विगतमा परिषद् अन्तर्गतका कोर्षहरूको प्रवेश परीक्षाका लागि पूर्व तयारी कक्षा (ब्रिज कोष) चलाउँदै आएका थिए।
त्यस्ता कोर्षको नाममा विद्यार्थीहरू मोटो रकम असुल्ने गरेका थिए।

त्यस्तो अवस्थाको अन्त्य गर्दै विद्यार्थीहरूले पाएको नम्बरका आधारमा भर्ना गरिने व्यवस्था गरिएको हो। सिटीइभिटी अन्तर्गत देशभर ६३ वटा आङ्गिक र प्रतिष्ठान एवं निजी गरी ४०० भन्दा बढी कलेज छन्। ती कलेजमा हरेक वर्ष २५ हजारभन्दा बढी नयाँ विद्यार्थी भर्ना हुने गरेका छन्।

यसका लागि अबदेखि परिषद्ले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गरेको छ। आङ्गिक र सम्बन्धन प्राप्त निजी क्याम्पसहरूले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण समेत गर्नेछन्। स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मला सापकोटाले उक्त निर्देशिका जारी भएसँगै विद्यार्थीलाई निकै सहज हुने बताए।

अबदेखि प्राविधिक शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीले प्रवेश परीक्षाको फारम भर्ने, प्रवेश परीक्षा दिने, प्रवेश परीक्षाको नतिजा कुर्ने लगायतका झन्झटिला प्रक्रियाहरूमा अलमलिनु नपर्ने भएको बताए। विद्यार्थीहरूले अनलाइनबाट आफूले चाहेको विषय, चाहेको शिक्षालयमा र आफू योग्य रहने कोटामा परिषद्को वेबसाइटमार्फत फारम भर्न सक्नेछन्।

हरेक वर्षको असारमहिनादेखि मङ्सिर महिनासम्म करिब ६ महिना सम्म कार्यालय प्रवेश परीक्षा सञ्चालन तथा व्यवस्थापनमा खट्नुपर्ने अवस्था रहँदै आएको थियो।

अबदेखि उक्त जनशक्ति जनशक्ति शैक्षिक क्यालेन्डर अनुसारका अर्धवार्षिक एवं वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा केन्द्रित हुने पाउने उनको भनाइ छ। जसले गर्दा शैक्षिक क्यालेण्डर अक्षरशः कार्यान्वयनमा जाने अवस्था सुनिश्चित भएको समेत बताए।

प्रकाशित मिति : २०८२ वैशाख ३० गते मंगलबार